Logo

आईपीएल : दिल्ली क्यापिटल्सद्वारा किङ्स इलाभेन पन्जाब पराजित



काठमाडौं, ८ बैशाख । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले किङ्स इलाभेन पन्जाबलाई पराजित गरेको छ । गएराति भएको खेलमा दिल्लीले पन्जाबलाई ५ विकेटले पराजित गरेको हो । दिल्लीस्थित फिरोज साह कोट्ला क्रिकेट मैदानमा पन्जाबले दिएको १ सय ६४ रनको लक्ष्य दिल्लीले १९ ओभर ४ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्‍यो ।

दिल्लीको जितमा शिखर धवन र श्रेयस आयरले अर्धशतक बनाए । धवन ५६ रनमा आउट हुँदा आयरले अविजित ५८ रन बनाए । यस्तै कोलिन इन्ग्रामले १९ रन बनाउदा पृथ्वी शले १३ रन बनाए । पन्जाबका हार्डुस भिलजोइनले २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो ।

पन्जाबका लागि क्रिस गेलले ६९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मन्दिप सिंहले ३० रन बनाए । पन्जाबविरुद्ध सन्दीपले ४० रन खर्चेर ३ विकेट लिए । यस्तै कागीसो राबडा र अक्षर पटेलले २र२ विकेट लिए ।

यो जितसँगै दिल्लीले लिगमा छैटौं जित हात पारेको छ । दिल्लीले १० खेलमा ६ जितसहित १२ अंक जोडेको छ । दिल्ली अंक तालिकाको तेस्रो स्थानमा छ । चौथो स्थानको पन्जाबले १० खेलबाट १० नै अंक जोडेको छ ।

यसअघि हिजै भएको पहिलो खेलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गरेको छ । मुम्बईले दिएको १ सय ६२ रनको लक्ष्य राजस्थानले ५ बल बाँकी छँदै ५ विकेटको क्षतिमा पूरा गर्‍यो । हारसँगै मुम्वईले शीर्षस्थानमा उक्लने मौका गुमाएको छ ।



प्रतिक्रिया दिनुहोस्