Logo

चार गुटले ललितपुर काँग्रेसमा भाँडभैलो



ललितपुर, ८ बैशाख । । नेपाली काँग्रेसभित्र केन्द्रीय नेताबीचको गुट उपगुटले समस्या ल्याएको छर्लङ्गै छ । तर, जिल्ला र स्थानीय तहसम्म गुट उपगुटले काँग्रेसको संगठन चकनाचुर भएको उदाहरण ललितपुर जिल्ला बनेको छ ।

अहिले ललितपुर जिल्लामा चारवटा गुट देखिएको छ । जिल्ला सभापति मदनबहादुर अमात्यले एउटा गुटको नेतृत्व गरेका छन् । उनी कसैलाई टेर्दैनन् भने उनलाई पनि कसैले टेर्दैनन् । न उनी कसैलाई कारबाही गर्न सक्ने समथ्र्य राख्छन् न त मिलाएर जाने पक्षमा छन् । आफूलाई कृष्णप्रसाद भट्टराईको चेलो भन्न रुचाउने र शेरबहादुर देउवाका परममित्र भन्ने उनलाई देउवा समूहकै नेता कार्यकर्ताले रुचाउन छाडेका छन् । उदयशमशेर राणा र जीतजङ्ग बस्नेत जस्ता देउवा नजिकका नेताहरुले अमात्यको कार्यशैलीबाट असन्तुष्टि जनाउँदै आएका छन् ।

अर्थराज्यमन्त्री भइसकेका राणा र नेपाल तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेत भविष्य बोकेका नेतामा पर्छन् । अमात्यले महालक्ष्मी नगरपालिका कमिटिले शनिबार आयोजना गरेको चीयापानमा सहभागी नहुनुका साथै आफू निकटस्थलाई पनि सहभागी नहुन निर्देशन दिए । उनको अनुपस्थिति र उर्दीका बाबजुद चीयापानमा पाँच सय काँग्रेस कार्यकर्ताको उत्साहजनक उपस्थिति भयो ।

५० जना काँग्रेस प्रवेश गरे । कार्यक्रममा देउवा निकटका रुपमा चिनिएका केन्द्रीय सदस्य पुष्पा भुषाल प्रमुख अतिथि बनिन् । रमेश लेखक प्रमुख अतिथि बन्ने तय भएपनि उनलाई रोक्न अमात्य स्वयं सक्रिय भए । लेखकले साँझ आयोजक कमिटिलाई महालक्ष्मी नगरपालिका पुगेर अनौपचारिक भेटी वास्तविकता बुझेका थिए ।

अमात्यका मुख्य प्रतिष्पर्धी बनेका जीतेन्द्र मलेखुको अर्को सशक्त गुट छ । कार्यकर्ताका लागि खुलेर सहयोग गर्ने स्वभावका मलेखुले चीयापानमा खुलेर अमात्यको विरोध गरे । उनले गुट बोकेर पार्टीलाई बर्बाद बनाउनेहरु आफै समाप्त हुने अभिव्यक्ति दिए । मलेखु पछिल्लो समय गिरिजाप्रसाद कोइराला फाउण्डेशन ललितपुर शाखाको अध्यक्ष पनि हुन् । उनी यसअघि अमात्यसँग जिल्ला सभापतिको चुनावमा पराजित भएका थिए ।

ललितपुरमा अर्को गुटमा उदयशमशेर राणा र जीतजङ्ग बस्नेतहरुको छ । उनीहरुको पक्षमा युवाहरुको संख्या बढी छ । महालक्ष्मी नगरपालिकाको चीयापानमा राणा र बस्नेत समेत सहभागी भएनन् । उनीहरुले अमात्यलाई नचिढ्याई जाने रणनीति बनाएको बुझिएको छ ।
रामकृष्ण चित्रकारको पनि एउटा गुट छ ।

पूर्व सभासद समेत रहेका चित्रकार प्रकाशमान सिंह निकट मानिन्छन् । तर, पछिल्लो समय उनले देउवासँग निकटता बढाएको चर्चा चलिरहेको छ । चित्रकारकै पहलमा पुष्पा भुषाल प्रमुख अतिथिका रुपमा कार्यक्रममा पुगेकी थिइन् । चित्रकारको क्षेत्र नम्बर दुईमा प्रभाव रहेको छ ।

पूर्व सांसद चन्द्र महर्जन गुट उपगुटको विरोधमा देखिन्छन् । उनी सबैले आयोजना गर्ने कार्यक्रममा पुग्ने गरेका छन् । चीयापानमा पनि उनी सहभागी थिएन । गिरिजाप्रसाद कोइराला फाउण्डेशनको कार्यक्रममा पनि सहभागी हुने गर्छन् । मदन अमात्य समूहले आयोजना गरेको कार्यक्रममा पनि महर्जनको सहभागिता देखिने गरेको छ । नेविसंघका पूर्व सहमहामन्त्री समेत रहेका युवा नेता बाबुराजा चित्रकार पनि कुनैपनि गुटमा खुलेर लागेका छैनन् । उनी पनि सबैको कार्यक्रममा सहभागी हुँदै आएका छन् ।

काँग्रेस प्रभावशाली नेता प्रकाशमान सिंहका प्रीय बनेका उनी गुट उपगुटको विपक्षमा देखिएकाले अवसर पाइरहेका छैनन् । यसैगरी, रुद्र शर्मालगायत काँग्रेसका गुटविरोधी जिल्ला नेताहरु समस्यामा पारिएका छन् । नेपाली काँग्रेसमा गुट उपगुटको लडाईंले ललितपुर जिल्लाभरी नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुको वर्चश्व रहेको छ ।

ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकामा मेयर नेपाली काँग्रेसको भएपनि प्रभाव नेकपाका वडाध्यक्ष र कार्यकर्ताहरुको रहेको छ । जिल्लाको सबै स्थानमा उनीहरुकै दबदबा हुँदा काँग्रेस नेता कार्यकर्ता आपसमा लडिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot