Logo

‘वन क्षेत्रलाई बहुउपयोग गर्न सकिन्छ’



विश्वनाथ वली, सचिव वन तथा भू—संरक्षण मन्त्रालय : नयाँ सरकार निर्माण भएसँगै नेपालको समृद्धि र विकासको चरण सुरु भएको छ । पाँचवर्षे सरकारको आयोजनालाई सघाउँदै वन मन्त्रालयले मुख्य पाँच बुँदामा जोड दिएर काम अघि सारेको छ । वनको प्रयोग गरेर हामीले देशलाई समृद्धिको दिशामा अग्रसर गराउन सकिन्छ भन्ने उद्देश्य लिएका छौं ।

काठ र दाउराको उत्पादन बढाउने,
जडीबुटी उत्पादनमा जोड दिने,
जैविक विविधताको संरक्षण गर्ने,
वन संरक्षण गर्दै, नयाँ वृक्ष रोप्दै मुलुकलाई आत्मनिर्भर बनाउने,
निजी र कृषि वनको प्रवद्र्धन गर्दै खेर गइरहेको जमिनको बहुउपयोग गर्ने,
कृषि क्षेत्रलाई संरक्षित गर्दै नयाँ वृक्षरोपण गर्ने,

यी सबै पक्षमा रहेर काम गर्ने लक्ष्य मन्त्रालयले अघि सारेको छ । हामीले अघि सारेका यी सबै बुँदामा केन्द्रित रहेर काम गरियो भने त्यसले समृद्धिमा मुख्य भूमिका निर्वाह गर्छ । अर्को कुरा सरकारले अहिले खाली जमिनको उपयोग गरेर त्यसबाट जतिसक्दो उत्पादन लिनुपर्छ भनेको छ हामीले पनि उक्त कुरालाई मध्यनजर गर्दै आइरहेका छौं । यसबाहेक हाम्रा अन्य योजनाहरू पनि छन् । ती सबै योजनाले हालको सरकारको लक्ष्य पछ्याउँदै मुलुकलाई समृद्धि बनाउन योगदान दिनेछ ।

हालको सरकारले गरिरहेका काम र तिनको नतिजालाई हेर्दा सन्तोषजनक नै देखिन्छ । सरकारले नागरिकको जीवन उकास्ने किसिमबाट विकासका रणनीति अपनाउँदै तीनलाई मूर्तरूप दिनतर्फ लागेको छ । यीबाहेक अरू योजना पनि थप हुँदै जानेछन् । अहिले काठमाडौँ उपत्यकालगायत देशभरको वन क्षेत्र कति छ हामीले त्यसबार सबै अध्ययन गरिसकेका छौं ।

वन र हरियाली क्षेत्रको पत्ता लगाई उक्त क्षेत्रलाई संरक्षण गर्नु हामी सबैको दायित्व पनि हो । आम नागरिकले विकास निर्माणका काममा सरकारलाई सघाउँदै अघि बढ्ने हो भने हामीले यो देशलाई हरेक पक्षबाट सुन्दर र व्यवस्थित बनाउन सकिन्छ । नेपाल प्राकृतिक रूपमा धनी देश हो । यहाँको प्राकृतिक पक्ष संसारका अरू देशको भन्दा अलग छ । संसारका अरू देशलाई लोभ्याउने खालका प्राकृतिक सम्भावना र अवसर हाम्रो देशमा लुकेका छन् । त्यसकारण सबै पक्षको अध्ययन गरेर हामीले समृद्धि मुलुक बनाउन सकिन्छ भन्ने लाग्छ । ०००



प्रतिक्रिया दिनुहोस्