Logo

‘असन्तुष्टलाई नसमेटी विकास असम्भव’



डा. नारायण खड्का, नेता,नेपाली कांग्रेस : मुलुकमा समृद्धि गफ गरेर, उखान टुक्का भनेर, हँसाएर ल्याउने होइन । अहिलेका प्रधानमन्त्री खड्गप्रसाद ओलीजीलाई राजनीतिक मनोरञ्जनकर्ता भन्दा हुन्छ । राजनीतिक रूपमा हँसाउन सक्ने व्यक्ति हो उहाँ । त्यसैलाई उहाँको भाषण सुन्दा रमाइलो हुन्छ मानिसहरू हाँस्छन् । देशको समस्या एकातिर छ, भाषणमा ठूला नारा दिएर, रेलका, पानीजहाजका ठूला–ठूला योजना देखाएर अलमलमा पारेर देशमा समृद्धि आउने होइन । देशको आधारभूत समस्यामा यो सरकार जान सकेको छैन । जनताको जनजीविकाको मुद्दामा यो सरकारले रत्तिभर काम गर्न सकेको छैन । जनताका दैनिक जनजीवनसँग जोडिएका कुरामा ध्यान नदिइकन त्यसै हावामा ठूला कुरा गरेर मात्रै समृद्धि आउँदैन । समृद्धि आउन एकचोटीमा ६÷७ प्रतिशत ग्रोथ भयो भने पनि त्यसलाई कसरी सस्टेन गर्ने, त्यसको कसरी सदुपयोग गर्ने भन्नेमा ध्यान दिन जरुरी छ । ती कुरामा ध्यान नदिँदासम्म दुई÷तीन तिहाइ जति भए पनि सबैलाई मिलाएर लान सक्नुपर्छ । जस्तो प्रतिपक्षी दलहरू, त्यसैगरी कर्मचारीतन्त्र, निजी क्षेत्र, मिडिया यी सबैको सहयोग भयो भने मात्र राष्ट्रको मिसनको रूपमा सबैले स्वीकार गर्न सक्ने सबैको सहयोग र समर्थन भयो भने मात्र मुलुक अगाडि बड्न सक्छ । यसका लागि प्रतिपक्षसँग पनि सहमति, सहकार्य गर्नेतिर ध्यानै छैन ।
प्रधानमन्त्रीजीको खाली एकोहोरो ढिपी र आफ्नै खाले मौलिक नाराहरू हुन्छन् यसले समृद्धि आउँदैन । नयाँ नारा दिनको लागि त सरकारलाई एउटा नारा चाहियो त्यो ठूलो समस्या भएन । विश्वका सबै सरकारहरूले आफ्नो राष्ट्रको समुन्नत कुरा गर्दछन् । मुलुकमा अभैm पनि संक्रमणकाल पूर्ण निमिट्यान्न भएको छैन । यो या त्यो नाममा विभिन्न खाले बन्द, हडताल, हत्या, हिंसा, आतंकहरू भइरहेका छन् । त्यसैले यो सरकारको पक्षमा दुई तिहाइ मेजेरेटी छ उसले आफ्ना महत्वाकांक्षा नयाँ नारा राख्नु ठूलो कुरा होइन तर त्यसले देशलाई के दिन सक्छ त्यो ठूलो कुरा हो । त्यसको लागि सरकारले मात्रै सबैले स्वीकार गर्न सक्ने राष्ट्रिय नीति र योजना भयो भने हुन सक्छ । होइन भने दुई तिहाईको सरकार भनेर दम्भ देखाएर मात्रै पाँच वर्षभित्रमा मुलुक कायापलट हुने होइन । धेरै दलदलमा फसेको छ मुलुक धेरै अप्ठ्यारोमा छ । अभैm पनि हत्या आतंक यथावत् छन् । त्यसलाई राम्रोसँग नसम्याइकन ठूला कुरा गरेर मात्रै केही हुनेवाला छैन । भाषण र कागजी डकुमेन्टमा यति हजार बिजुली निकाल्छौं, यति हजारलाई रोजगारी दिन्छौं, यति हजार जनताले रोजगारी पाउँछन् भनेर मात्रै हुँदैन । दुई तिहाइको बहुमत छ भनेर प्रतिपक्ष र असन्तुष्ट पक्षलाई नसमेटिकन मुलुकमा विकास समृद्धिको कल्पना गर्न सकिँदैन । पहिला मुलुकमा शान्ति सुरक्षाको ग्यारेन्टी हुनुपर्छ । त्यसपछि स्थानीय तहका जनताको मर्म र भावना बुझ्न सक्नुपर्छ । उनीहरूलाई शान्तिसुरक्षाको ग्यारेन्टी गर्न सक्नुपर्छ अनि मात्र मुलुकमा समृद्धिको कल्पना गर्न सकिन्छ ।
०००



प्रतिक्रिया दिनुहोस्