Logo

जिल्ला नेतृत्व घोषणामा ओली-प्रचण्डले के भने ?



वैशाख ९, काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख विपक्षी नेपाली कांग्रेसप्रति रुष्ट देखिनुभएको छ । जिल्ला पदाधिकारी चयनगरेर तल्लो तहको एकता पनि सम्भव हुने संकेत दिएको नेकपाले ७० औं स्थापना दिवसमा विशेष कार्यक्रम गरेको थियो । त्यसक्रममा ओलीले प्रतिपक्षी दलप्रति कटाक्ष गर्नुभएको हो ।

यता नेकपाकै अध्यक्ष पुष्पकमल दाहालले भने ठूलो छलाङको आँट गरेको भन्दै प्रशंसा गर्नुभयो । सम्बोधनका क्रमा दाहालले भने पार्टीको आन्तरिक विषयमा मात्रै आफ्ना धारणा राख्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले प्रतिक्रियावादी शक्तिसँग घाँटी जोडेर गलत नीति अपनाएको आरोप लगाउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टीको ७० औं स्थापना दिवसका अवसरमा नेकपाले सोमबार काठमाडौमा आयोजना गरेको कार्यक्रमा प्रधानमन्त्री ओलीले सहयात्री कम्युनिस्टमाथि राष्ट्रियतामा साथ दिन नसकेको भन्दै कांग्रेसले गलत बाटो समातेको आरोप लगाउनुभएको हो ।

कांग्रेसका कतिपय नेता अझै पनि राजतन्त्रको सपना बोकेर हिँडेको देख्दा आफूलाई अचम्म लागेको ओलीको भनाई थियो । नेकपा अध्यक्ष समेत रहेका ओलीले यसअघिको पूर्ववर्ती सरकारले मुलुक बर्बाद पारेको धारणा राख्नुभयो । मुलुकमा तीव्रतर आर्थिक वृद्धि भइरहको भन्दै उहाले मेलम्ची आयोजनाका ठेकेदारलाई जसरी पनि फर्काउने विश्वास दिलाउनुभयो ।

भ्रष्टाचारीलाई नियन्त्रण गरेरै छाड्ने दाबी गर्दे ओलीले अहिले विभिन्न प्रकारका तस्करी हट्दै गएको र मुलुकमा शान्ति सुव्यवस्था कायम भएको बताउनुभयो । ओलीले दुई पार्टीबीचको एकीकरण पछि बनेको संसदको ठूलो दल नेकपाले राष्ट्रियतको रक्षा गर्दै राष्ट्रियताको आन्दोलनलाई उचाइमा पुराएको धारणा राख्नुभयो । प्रधानमन्त्री ओलीले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनताका पक्षमा आफ्नो पार्टी भएको बताउँदै अब जग थप मजबुत भएको दाबी समेत गर्नुभयो ।

त्यस्तै नेकपा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले कम्युनिष्टलाई असफल पार्न अहिले पनि नेपाल भित्र र बाहिरबाट षडयन्त्रका तानाबाना बुन्ने काम नरोकिएको बताउनुभयो । एकता प्रक्रियामा जिल्ला तहको नेतृत्व टुंग्याउनु फलामे ढोका फोरेसरह भएको उहाको भनाई छ ।

प्रचण्डले एक वर्षभित्र पार्टीको महाधिवेशन गरिसक्ने भन्दै ८ महिनाभित्र ७७ जिल्ला र प्रवासका सबै कमिटीको सम्मेलन सकिने र एक वर्षमा महाधिवेशन गर्ने दाबी गर्नुभयो । प्रचण्डले पार्टीका अधिवेशनलाई भ्रष्टाचार, ढिलासुस्ती, बेइमानी, जालझेलका विरुद्ध अभियानको रुपमा लैजानुपर्ने धारणा पनि राख्नुभयो ।

जिल्लाको नेतृत्व छिनोफानो गरेको नेकपाभित्र केही समस्या भने थपिएको छ । नेकपाका ८ जना केन्द्रीय सदस्यलाई जिल्ला कमिटी सचिव बनाइएपछि असन्तुष्टी देखिएको हो । तत्कालिन एमालेका जिल्ला अध्यक्षहरुलाई निरन्तरता दिने सन्दर्भमा भएको सहमति अनुसार अध्यक्ष नपाएको जिल्लामा सचिवमा घटुवा गरिएको छ । तर तत्कालिन माओवादीतर्फका भने ८ जना केन्द्रीय सदस्य जिल्ला सचिवमा घटुवा भएका छन् । यद्यपी उनीहरुको केन्द्रीय सदस्य पद पनि यथावत छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot