Logo

लोकतन्त्रपछिको १३ वर्ष : नेतालाई मस्ती जनतालाई सास्ती(जनताको आवाजसहित)



वैशाख ११, काठमाण्डौ । निम्न वर्गीय मजदुर वर्गहरु लोकतन्त्र स्थापनापछिका वर्षहरूले आफूहरुलाई कुनैपनि परिवर्तन नगरेकोे गुनासो रहेको बताएका छन् । आन्दोलनको बलमा राजतन्त्र हटेर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि जनताको तहमा आधारभूत परिवर्तन नआएको बरु सीमित मान्छेले फाइदा लिइराखेको उनीहरूको भनाई छ  ।

६२–६३ को जनआन्दोलनपछि नेपालको राजनीति अपेक्षाकृत रुपमा सुधार नभएको तर्क सबैले गर्ने गरेका छन् । राजनीतिक परिवर्तनले जनताको दैनिकीमा कुनै परिवर्तन नभएको नागरिकको गुनासो हो । दलका नेताले परिवर्तनका ठूला कुरा गरे तर जनताले दैनिक भोग्नुपर्ने समस्या जस्ताको त्यस्तै रहेको नागरिकको गुनासो छ ।

महङ्गी, भ्रष्टाचार, बेथिती मौलाउँदै जानुमा नेताहरु नै दोषी रहेको आरोप लाग्दै आएको छ । लोकतन्त्र स्थापनापछि सुशासन कायम हुन सकेको छैन । लामो समय दलीय भागबण्डमा बाँडीचुँडी स्वार्थ पूरा गरियो ।

हुनेखानेलाई मात्र लोकतन्त्र आएको नागरिकको दावी छ । जनताले लोकतन्त्र पछिको १३ वर्षमा केही पनि नपाएको विभिन्न क्षेत्रका व्यक्तिहरुको ठम्याई छ । ढिलै किन नहोस्, राजनीतिक परिवर्तन भएकै हो । तर जनताले के पाए भन्ने मूल प्रश्न हो । मजदुरदेखि साना व्यापारीसम्म सन्तुष्ट छैनन् ।

यता बिद्यार्थीहरु भने लोकतन्त्राले राजनीतिमा झनै विकृति मौलाएको बताएका छन् । लोकतन्त्र स्थापनापछिका वर्षमा विश्वविद्यालयजस्ता सार्वजनिक संस्था झनै लथालिंग भएको, सरकारी विद्यालयको गुणस्तर खस्केको विद्यार्थीको अनुभूति छ ।

लोकतान्त्रिक व्यवस्थामा लोकतन्त्रकै सुन्दरता हराएको भन्दै राजनीतिक नेतृत्वको कमजोरी र स्वार्थी खेलले जनतालाई निराश पारेको छ । जनताले एउटा राजा फाले पनि हजारौ राजा जन्माएको धेरैले भन्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot