वैशाख १२, काठमाण्डौ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्व प्रमुख कार्यकारी अधिकृत डा. गोविन्द पोखरेलले भूकम्पपछिको पुनर्निर्माणमा ढिलाई हुनुको कारण राजनीति संक्रमण, निर्वाचन र कर्मचारी समायोजना लगायत रहेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै पोखरेलले जुन गतिमा काम हुनुपथ्र्यो त्यसरी हुन नसकेको स्वीकार गर्दै प्राधिकरणलाई पर्याप्त अधिकार पनि नदिइएकाले प्रभावकारी काम हुन नसकेको बताए ।
सरकारले प्राधिकरणलाई पुनर्निर्माण कोष स्थापना गर्न नदिएको पोखरेलको आरोप छ । अर्थ मन्त्रालय र अन्य सरकारी संयन्त्रले कोष राख्न नदिँदा पनि ढिला भएको उनको जिकिर छ ।
प्राधिकरणले पर्याप्त कर्मचारीसमेत नपाउँदा काममा बाधा उत्पन्न भएको उनको ठम्याई छ । सरकारले सहुलित व्याजमा ऋष दिने भने पनि बैँकहरुले सहयोग नगरेको पोखरेलले बताए ।
५ पुस ०७२ मा पुनर्निर्माण सम्बन्धी ऐन जारी भएर ५ वर्षका लागि गठन भएको प्राधिकरणले १२ पुसमा औपचारिक रुपमा काम सुरु गरेको थियो । प्राधिकरणले काम सुरु गरेको वैशाख १२ गते नै ४० महिना पूरा भइसकेको छ भने अब यसको अवधि २० महिना बाँकी छ ।
हालसम्म निजी आवास पुनर्निर्माण समग्रमा ८० प्रतिशत निर्माण सम्पन्न भइसकेको प्राधिकरणको दावी छ ।