वैशाख, १५, काठमाण्डौ । नयाँ साल २०७६ लागे सँगै नेपाली शेयर बजार दिनहुँजसो बढिरहेको छ । बजारमा लगानीकर्ताको संख्या र कारोबार रकममा पनि वृद्धि भइरहेको छ । २०७३ साउनदेखि घट्दो क्रममा रहेको नेपाली पुँजी बजार अवका दिनमा भने वढ्ने अपेक्षा गरिएको छ ।
निक्कै लामो समय देखि घट्ने क्रममा रहेको नेपाली शेयर बजार पछिल्ला केहि सातामा आएको सुधारले १३ सयको विन्दुमा भन्दा माथि गएको छ । सामान्यतया चैत्र वैशाख शेयर बजारमा प्रवेश गर्ने उपयुक्त समयका रुपमालिने गरिन्छ । बजार सुधारका कार्यहरु समेत अगाडि बढाइरहेकाले पनि लगानीकर्ताको आत्मबल बलियो बन्दै गएको छ ।
ब्रोकरमार्फत मार्जिन कारोबार खुला, ब्रोकरको शाखाविस्तार, लिलामी सेयर उपत्यकाबाहिरबाट भर्न पाइने सुविधा, बैंकलाई ब्रोकर लाइसेन्स प्रक्रियालगायतले पनि सेयर बजारमा सकारात्मक प्रभाव देखिन थालेको छ ।। लगानीकर्ताको सम्पति प्रत्येक दिनजसो बढिरहेको छ । यसले गर्दा पनि थप लगानी गर्न लगानिकर्ता हरु उत्साहित भएको देखिन्छ ।
बजारमा लगानीकर्ताको संख्या बढ्दै जानु र खरिदबिक्री रकम पनि चुलिनु दिगो विकासको संकेत हो । यतिबेला ठूला, साना अनि संस्थागत लगानीकर्ता सबैले सेयर बजारमा लगानी बढाएको विश्लेषण भइरहेको छ । पछिल्ला केहि सातायता कारोबार रकममा देखिएको सुधारले पनि बजारमा लगानीकर्ताहरुले लगानी बढाउँदै लगेको नेपाल स्टक एक्स्चेन्जको भनाई रहेको छ ।
पछिल्लो समय बैंकिङ क्षेत्रमा लगानीकर्ता झुम्मिएका थिए । तर साताको पहिलो दिन आईतवार नेपाल स्टक एक्स्चेन्ज नेप्सेमा बिमा समूह सकारात्मक देखिएको छ । जीवन बिमा समूहको सूचक ६२९.३८ अंकले बढेको हो । त्यस्तै निर्जीवन बिमा समूह पनि ४६२.७९ अंकले बढेको छ । समग्रमा नेप्से सुचक २२.३९ अंकले बढेर १३१४.५१ विन्दुमा आइपुगेको छ । १७६ कम्पनीको १ अर्ब ६७ करोड रुपैयाँभन्दा धेरैको कारोबार भएको छ ।