वैशाख १५, काठमाण्डौ । १ पैसामा अण्डा पाइने भन्दा अचम्म लाग्न सक्छ । उपभोक्ता लुट्न पल्किएका व्यापारीले नै एक पैसामा अण्डा बेच्ने गरी टेण्डरमा सहभागि भएपछि चर्चा सुरु भएको छ । आखिर एक पैसामै अण्डा, चना, चिनी, लसुन जस्ता खाद्यान्न एक रुपैयाँमा एक किलो बेच्ने कुरा कसरी सम्भव छ ? यस्तै देखिएको वीर अस्पतालको क्यान्टिनमा । ठेक्का पाउनकै लागि यसरी सम्भव नै नदेखिने मूल्य प्रस्ताव गर्नुले विभिन्न आशंका उब्जाएको छ ।
सुन्दा पनि अचम्म लाग्ने वीर अस्पतालमा विरामीलाई रासन उपलब्ध गराउन गरीएको टेण्डरमा कसैलाई पनि पत्यार नै हुन नसक्ने मुल्य पेश गरिएको छ । वीर अस्पताललाई न्यु सुयोग इन्टरप्राइजेजले बजारमा १४ रुपैंया पर्ने कुखुराको अण्डा १ पैसामा नै उपलब्ध गराउने गरी मूल्य पेश गरेको हो ।
त्यति मात्रै होइन, चना, लसुन, बेसार, अदुवा, जीरा प्रति केजी १ रुपैंया, नेबिको, सुगर फ्री बिस्कुट प्याकेटको १ रुपैंया, तेल १ रुपैंया लिटर, जीरा मसीनो चामल प्रती केजी ८० रुपैंया, दाल प्रती केजी ७५ रुपैंया गहुँको आँटा ५ केजीको १ रुपैंयाका दरको मुल्यमा अस्पताललाई दिने गरी टेण्डरको मुल्यसुचीमा उल्लेख गरीएको छ ।
यसरी १ रुपैंयामा नै खरीद गरी विरामीलाई खुवाउने खानाको गुणस्तरमै शंका उब्जिएको छ । वीर अस्पतालका लागि नयाँ आर्थिक बर्षको खाद्यन्नको लागि टेण्डर खुलाइएकोमा ३ वटा कम्पनीले टेण्डर हालेका छन् । जसमध्ये न्यु सुयोगले २९ लाख ८७ हजार ६ सय ५५ रुपैयाँ, आरके ट्रेडसले १ करोड ४२ लाख ७८ हजार २ सय २८ र माहाङकल सप्लायसर्ले १ करोड ४३ लाख ८ हजार ६ सय २५ रुपैयाँ वार्षिक रुपमा तिर्ने गरी टेण्डर हालेका हुन् ।
सस्तो मूल्य पेश गरेर टेण्डर हत्याउन लागेका न्यु सुयोग इन्टरप्राइजेजका संचालक शिवराम लम्सालसँग यस विषयमा जानकारी लिन खोज्दा सम्पर्कमा नै आउन चाहेनन् । तीनमध्ये सबै भन्दा कम मुल्यसुची न्यु सुयोगले पेश गरेपछि अस्पतालले यही कम्पनीलाई छनौट गरेको छ । तर कम्पनीले उल्लेख गरेको मूल्य कसरी सम्भव हुन्छ त । यदी पेश गरेको मूल्यअनुसार गुणस्तरीय वस्तु विक्रि वितरण गरेन भने कारबाही गरिने अस्पताल प्रशासनले बताएको छ ।
बजारमा पाउने मुल्य र टेण्डरबाट पाउने सामानको मुल्यमा यति ठुलो भिन्नता भएपछि विरामीलाई खुवाउन उपलब्ध गराउने खाद्यान्न गुणस्तरीयउ हुनेमा आशंका उब्जिएको छ । वीर अस्पतालमा ३८० सैयाँ मध्ये ८० प्रतिशत अर्थात ३०४ सैंयामा विरामिहरुलाइ निशुल्क उपचार गराउछन् भने २० प्रतिशत चाहिँ शशुल्क उपचार हुन्छ ।
वीर अस्पतालमा हरेक महिना ५ हजार १ सय र ट्रमा सेन्टरमा २ हजार ६२४ जना विरामि गरी ७ हजार ७ सय २४ जनाले निशुल्क खाना खान्छन् यसरी यो तथ्यांक हेर्दा हरेक बर्ष ९२ हजार ६ सय ८८ जनालाई वीर अस्पतालले विरामीलाई निशुल्क खाना खुवाउछ ।