काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टी दर्ताका लागि हिजो निर्वाचन निर्वाचन आयोगमा निवेदन दिएसँगै मधेशमा अब कुन शक्ति बलियो हुन्छ भन्ने बहस सुरु भएको छ । अहिलेसम्म शक्तिमा रहेका राजपा नेपाल र संघीय समाजवादी फोरम नेपाललाई भने राउतको पार्टी दर्ता भएसँगै तनाब बढेको छ ।
केही दिनअघिमात्रै राउतले मधेशवादी दलको दुकान अब बन्द हुने घोषणा गरेका थिए । हिजो (आइतबार) राउत सहितको टोली निर्वाचन आयोगमा पुगेर दल दर्ताका लागि निवेदन दिएका थिए । दल दर्ताका लागि निवेदन दिने केन्द्रीय सदस्यहरुको हस्ताक्षरको सनाखत समेत भैसकेको छ।
पार्टीको अध्यक्षमा डा. राउत छन भने केन्द्रीय समिति ३५ सदस्यीय रहेको छ । पार्टीले निर्वाचन आयोगमा बुझाएको विधानमा नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई स्वीकार गरिएको छ । जनमत पार्टीको मार्ग निर्देशक सिद्धान्तमा जनसंप्रभुत्ता, लोकतन्त्र, समाजिक न्याय र समाजवाद रहेको छ । स्वतन्त्र मधेश गठबन्धन र सरकारबीच ११ बुँदे सहमतिपछि राउतको नेतृत्वमा जनमत पार्टी गठन भएको थियो ।