काठमाडौं, १६ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक सम्पन्न भएको छ । आज बसेको बैठकले पार्टीको जागरण अभियानलाई देशव्यापी बनाउने निर्णय गरेको कोषाध्यक्ष सीतादेवी यादवले जानकारी दिईन् ।
पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकन्ठमा बसेको बैठकले जागरण अभियानलाई जनताको घरदैलोसम्म पुर्याउने निर्णय गरेको हो । सरकारको कार्यशैली र गलत कामको भन्डाफोर गर्दै जनताको घरदैलो पुग्ने निर्णय भएको यादवले जनाईन् । उनले सातओटै प्रदेशमा हुने जागरण अभियानमा शीर्ष नेताहरुले सम्बोधन गर्ने बताईन् ।
बैठकले सरकारले जनचाहनाअनुसार काम गर्न नसकेको, भ्रष्टाचार र अनियमितता बढेको भन्दै सरकारको खबरदारी गर्ने निर्णय पनि गरेको छ । बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शाशांक कोइरालालगायतका नेताको उपस्थिति थियो ।