राष्ट्रपति विद्यादेवी भण्डारीले भूगोलको हिसाबले नेपाललाई उत्तरतिर चीनको तिब्बतले नै जोड्ने भएकाले यस क्षेत्रको भ्रमण गर्नु अति आवश्यक भएको बताउँदै चीन र तिब्बतले गरेको अभूतपूर्व विकास प्रयासका लागि प्रशंसा गर्दै धन्यवाद दिनुभएको छ । उहाँले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटमा अन्तरसीमा हिमाली क्षेत्रको विकास परियोजनाका लागि पूर्ण सहयोगको आश्वासन पाएको र त्यसमा चिनियाँ चासो पनि रहेको बताउनुभएको जानकारी दिनुभयो ।
चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणमा चीनको राजकीय भ्रमणका क्रममा बेइजिङबाट ल्हासा आइपुग्नुएका राष्ट्रपति भण्डारीलाई चिनियाँ कम्युनिष्ट पार्टी, तिब्बती स्वशासित क्षेत्र समितिका सचिव वु इङजीले यहाँको परराष्ट्र मन्त्रालयमा स्वागत गर्नुभयो ।
आजै दुई पक्षबीच भएको बैठकमा राष्ट्रपति भण्डारीले आफू कुनै पनि पार्टीको सदस्य नभएको र सबैको राष्ट्रपति भएको बताउँदै नेपालका सबै पार्टीप्रति चीन सरकारले राम्रो सम्बन्ध राखेको धारणा व्यक्त गर्नुभयो । उहाँले चीन तथा तिब्बतको विकास प्रयासबाट नेपालका सबै राजनीतिक दलका नेताहरुले सिक्न सक्ने पनि उल्लेख गर्नुभयो ।
बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल चीनबीच सीमा क्षेत्रको विकासमा तिब्बतले ठूलो भूमिका खेल्न सक्ने बताउनुभयो । उहाँले नेपालले चीनसँग क्षेत्र तथा मार्ग प्रयास ९बेल्ट एण्ड रोड इनिसियटिभ०मा काम गर्दा तिब्बतको ठूलो भूमिका हुने पनि बताउनुभयो । उहाँले बहुआयामिक यातायात सञ्जालमा रेलमार्गको कुरा भएको र यसले यस क्षेत्रकै सामाजिक विकासमा ठूलो परिवर्तन ल्याउन सक्ने धारणा व्यक्त गर्नुभयो ।
उहाँले मे महीनादेखि तातोपानी नाका खोल्न सहमति भए पनि अन्य नाकाका विषयलाई पनि अगाडि बढाउनुपर्ने र हिमाली क्षेत्रका १५ जिल्लासँग मिली अन्तरसीमा आर्थिक विकास गर्न सके ठूलो फाइदा पुग्ने बताउनुभयो । मन्त्री ज्ञवालीले नेपालले सन् २०२० लाई भ्रमण वर्षको रुपमा लिएको बताउँदै तिब्बती क्षेत्रबाट थप पर्यटक पठाइदिन आग्रहका साथ सचिव वुलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुभयो ।
सचिव वुले दुई राष्ट्रपतिले व्यक्त गर्नुभएको मतैक्यतालाई तिब्बतले दृढताका साथ अगाडि बढाउने जानकारी दिँदै तिब्बत र नेपालबीच रेल सम्पर्क तथा पहाडी क्षेत्रका परियोजनाका विषयमा कार्य हुनेमा आश्वस्त हुन आग्रह गर्नुभयो । उहाँले दुई मुलुकका सीमा क्षेत्रका जिल्लामा विकास परियोजनाका विषयमा चिनियाँ राष्ट्रपति सीको निर्देशनअनुसार काम गरिर्ने पनि उल्लेख गर्नुभयो । उहाँले आफूले सन् २०११ मा नेपालको भ्रमण गरेको बताउँदै मन्त्री ज्ञवालीको निमन्त्रणा स्वीकार गरी समय मिलाएर पुनः नेपालको भ्रमण गरिने जानकारी दिनुभयो ।
बैठकपछि दुई पक्षबीच उपहार आदानप्रदान भयो भने सचिव वुले राष्ट्रपति भण्डारीको सम्मानमा रात्रिभोज आयोजना गर्नुभयो । उक्त अवसरमा चिनियाँ कम्युनिष्ट पार्टी, तिब्बत स्वशासित क्षेत्र समितिका उपसचिव तथा तिब्बत स्वशासित क्षेत्रका सरकारका अध्यक्ष छी ठालाले हार्दिक र मैत्रीपूर्ण सम्बन्ध रहेका चीन तथा नेपालले विकास प्रयासलाई अझै अगाडि बढाउनेछन् भन्नुभयो ।
राष्ट्रपति भण्डारीका तर्फबाट परराष्ट्रमन्त्री ज्ञवालीले उक्त भोज र भ्रमण दललाई दिइएको आतिथ्य र मायाका लागि धन्यवाद व्यक्त गर्दै बिआरआईको सञ्जाल निर्माणले विकास प्रक्रिया तथा यस क्षेत्रको जनताको सामाजिक विकासमा दूरगामी प्रभाव पर्ने बताउनुभयो ।
उहाँलाई ल्हासाको गोङ्गर विमानस्थलमा तिब्बत स्वशासित क्षेत्रका कार्यकारी उपाध्यक्ष चियाङ जीले स्वागत गर्नुभएको थियो । चीन भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बेइजिङमा आयोजना भएको दोस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनलको अपरेशन ९अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र तथा मार्ग मञ्च० मा सहभागी भई सम्बोधन गर्नुभएको थियो । राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री ज्ञवाली, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सङ्घीय संसद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारी, चीनका लागि नेपाली राजदूत लीलामणी पौड्याल, नेपालका लागि चीनका राजदूत होउ याङछी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी रहनुभएको छ । रासस