Logo

उपलब्धिमाथि प्रहार किन ?



शम्भु श्रेष्ठ, वरिष्ठ पत्रकार : मुलुकको अवस्था बाहिरबाट हेर्दा शान्त, सुखी, एकदमै सुशासन भए जस्तो देखिन्छ । तर, भित्रभित्रै धेरै कुराहरूको चलखेल भइरहेको छ । नदीको बेग र सतहमा बगेको करेन्टलाई उपयोग गर्न सक्यौं भने आन्दोलनका जे–जति उपलब्धि भनेर आज हामीले गर्व गरेका छौं । यो कुराबाट देशले शान्ति, स्थिरता र समृद्धि हासिल गर्नेछ । सकेनौं भने क्रमशः हामीले विगतमा उपलब्ध गरेका उपलब्धिहरू धराशायी हुँदै जानेछन् ।

गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतामा हिजो सहमत भएका र पटकपटक सरकारमा रहेका जिम्मेवार दलहरू अहिले त्यसको पक्षमा आवाज उठाइरहेका छन् । यो डरलाग्दो कुरा हो । गणतन्त्रको उपलब्धिमाथिको प्रहार हो । यो प्रहार किन कसका लागि भइरहेको छ भन्ने कुरा पनि त्यत्तिकै रहस्यमय छ ।

एकातिर नेकपाको दुई तिहाइको सरकार बनेको छ । यो सरकारले शान्ति, स्थिरता र सुशासनलाई प्याकेजमा राख्नेछ । र, विखण्डनवादी दलहरूलाई मूलधारमा ल्याउने काम यो सरकारले गरेको छ । तर, यो सरकारमा रहेको कम्युनिस्ट पार्टीको एउटा घटकले अहिले पनि विभिन्न बहानामा आतंक मच्चाउने काम गरिराखेको छ । माओवादीको एउटा धार एमालेसँग मिल्न आउँदा अर्को धार त्यसरी किन बिच्किन बाध्य बनाइयो ? पुरानै बाटोतिर २०५२ सालमै फर्किनुपर्ने किन भयो ? भन्ने कुरा एउटा राज्यले सोच्नुपर्ने विषय हो । सीके राउतलाई मूलधारमा ल्याइरहँदा र्व मूलधारबाट अलग्याउने काम राज्यले गरेको छ ।

राज्यले विप्लबको पार्टीमाथि प्रतिबन्ध लगाउने काम गर्नु हुँदैन । निर्वाचन आयोगमा उसको पार्टी दर्ता छ । दर्ता भइकन पनि भूमिगत रूपमै त्यो चलेको छ । उदाहरणको लागि हिजो भूमिगत पार्टी सञ्चालन हुँदा निर्वाचन आयोगमा दर्ता थिएन । उसले उठाएका मुद्दाहरूले आज देशमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता स्थापित भएको छ । हिजो विप्लवसहितको पार्टीले उठाएका मुद्दाहरू स्थापित भइरहेको अवस्था हो ।

राजनीतिक दलहरू यी विषयप्रति गम्भीर हुन जरुरी छ । आफैंले ल्याएको व्यवस्थाविरुद्ध लाग्नु घातकसिद्ध हुन जान्छ । देश नयाँ कोर्समा अगाडि बढिसक्यो । त्यसलाई सबैले मनन् गर्नुपर्छ । परिवर्तनलाई स्वीकार्ने र परिवर्तनमा मेरो पनि योगदान छ भन्ने बुझेर समृद्ध मुलुक निर्माणमा लाग्नुपर्छ । सत्तापक्षले प्रतिपक्षलाई समेटेर जाने क्षमता प्रदर्शन गर्नुपर्छ । प्रतिपक्षले पनि देश र जनताप्रति जिम्मेवारी प्रस्तुत गर्नुपर्छ । देशलाई अर्को द्वन्द्वमा लानु देश र जनताप्रतिको घात हुन्छ । यस्तो घात कहीँ कतै कसैबाट हुनु हुँदैन ।

देशमा नयाँ पुस्ताले परिवर्तनको अभ्यास गरिसकेका छन् । उनीहरू विगततर्फ फर्कन चाहँदैनन् । अगाडिको यात्रालाई सहज र सार्थक बनाउनुपर्छ । देशमा विकासको वातावरण बनाउनुपर्छ । युवाहरूलाई स्वदेशमै रोजगारीको सिर्जनाका लागि प्रोत्साहित गर्नुपर्छ । बिगार्न सजिलो छ, बनाउन कठिन । तर, नबनाई विकल्प छैन । भावी पुस्ताका लागि अहिलेको पुस्ताले सकारात्मक कार्य गर्नुपर्छ । नेतृत्व विकासमा योगदान गर्नुपर्छ । देशको हरेक क्षेत्र र निकायलाई सक्रिय बनाउने माहोल तयार गर्नुपर्छ । नदी बगिरहे पनि करेन्ट निकाल्न सकिएको छैन भनेजस्तै युवाशक्ति हुँदाहुँदै सही सदुपयोग गर्न सकिएको छैन । अब नदीबाट करेन्ट र युवाशक्तिबाट समृद्ध मुलुक निर्माण गर्नुपर्छ ।



प्रतिक्रिया दिनुहोस्