केदार धमला, रिपोर्टर्स क्लब कास्की : पोखरा शब्द आफैंमा पर्यटन हो । विश्वले चिनेको पोखरालाई थप व्यवस्थित र आकर्षक बनाउनु आफैंमा अपरिहार्य छ । सुन्दरता सबैलाई मन पर्छ । यहाँ रहेको प्रचुरमात्राको प्रकृतिलाई संरक्षण गरेमात्र पर्यटकीय राजधानी बनाउन सकिन्छ । नेपाललाई विभिन्न दृष्टिकोणबाट पर्यटकीय क्षेत्रका रूपमा हेर्ने गरिन्छ । एकै मुलुकमा भिन्नभिन्न हावापानी, भूवनोट, ताल, हिमाल, रंगीबिरंगी फूल, चराचर जीवजन्तु यसका उदाहरण हुन् । विश्वको अग्लो शिखर सगरमाथादेखि अनेकौं हिमालले नेपाललाई गहिरो ढंगबाट पर्यटनसँग घुमिल हुन सहज बनाउँछ ।
गण्डकी प्रदेशको पहिचान पोखरा नै हो । पोखरा र यस आसपासका पर्यटकीय क्षेत्रले स्वदेशी तथा विदेशी पर्यटकलाई लोभ्याउँदै आएको छ । सिंगो प्रदेशलाई हेर्दा माछापुच्छे«, अन्नपूर्ण, धौलागिरि हिमाल, हिमाल पारिका जिल्ला मनाङ, मुस्ताङसँगै उपल्लो मुस्ताङ, लोमान्थाङ, मुक्तिनाथ मन्दिर सबै पर्यटकीय गहना हुन् । पोखराभित्रैको सात तालको सहर जहाँ फेवाताल, बेगनासताल, रूपाताल, खास्टेताल, दिपाङताल आदि छन् । पोखरालाई पाताले छाँगो, गुप्तेश्वर गुफा, महेन्द्र गुफा, चमेरे गुफा, सराङकोट सबै प्रकृतिका देन हुन् । यता धार्मिक पर्यटकको आगमनमा समेत पोखराले बाजी मार्न सक्छ । फलतः यहाँको विन्ध्यवासिनी मन्दिर, तालबाराही मन्दिर, गुप्तेश्वर मन्दिर, सेती नदी खोँच, काँहु डाडा, पामे, भद्रकाली मन्दिर, विश्वशान्ति स्तूप अन्दुडाँडा, माटेपानी गुम्बा, हरिहर गुफा भलामलाई छोड्न सकिँदैन ।
पर्यटकीयरूपले संग्रहालय, स्थानीय सानासाना मठमन्दिर, पुराना शैलीका भवन, शिल्पशैलीका प्यागोडा मन्दिर, विभिन्न जातजातिको भाषा, धर्म र संस्कृतिका कारण पोखरा सधैं धनी छ । अन्तर्राष्ट्रिय विमानस्थल बन्ने क्रमसँगै यहाँको पर्यटनलाई थप हौसला मिलेको छ । सामाजिक विविधतासँगै पर्यटन पेसा र पर्यटकसँगको मित्रताले यहाँ साहसिक खेलको सम्भावना पनि निकै छ । प्याराग्लाइडिङ, बन्जिजम्प, जिप फ्लाइङ, क्नोनिङले आन्तरिक तथा बाह्य पर्यटकको मन लोभ्याउने गरेको छ । भौतिक संरचनाले भरिपूर्ण प्रदेशकै राजधानी पोखरा सिंगो नेपालको पर्यटकीय हब हो । काठमाडौं, लुम्बिनी, चितवन, पूर्वका धरान र आसपास, इलाम, पश्चिमका खप्तडलगायत क्षेत्र नेपालको गहना नै हुन् । जति भए पनि पोखराको अभाव हुने हो भने सबै यात्रा अधुरो बन्दै आएको छ ।
राष्ट्रले आर्थिक रूपमा मुहार फेर्ने क्षेत्र भनेकै पर्यटन हो । विश्व बजारमा घुम्ने पर्यटकले नेपाल घुमे भने देशको परिवर्तन छिट्टै हुन्छ । विदेशमा रोजगारीका लागि जाने लाखौं हाम्रा नेपाली श्रमिकलाई स्वदेशमै रोजगारी दिन सक्ने क्षेत्र पनि पर्यटन नै हो । राज्यले पर्यटन भित्र््याउने योजना बनाइरहँदा यसका पूर्वाधार विकास हुन सकेको छैन । नेपाल आएका पाहुनालाई राम्रो स्वागत र सत्कार गर्न सकिएन भने अर्को पटक त्यो पर्यटक त आउँदैन । उनीहरूले नेपालको छविलाई समेत धुुमिल बनाउँछन् । अर्थात् पुनः आउन अरूलाई सिफारिस गर्दैनन् । हरेक १० वर्षमा राजनीतिक परिवर्तन गर्न सक्ने नेपालीले पर्यटन क्षेत्रमा त्यसो गर्न सकेका छैनन् । नेपाल धार्मिकरूपले महत्वपूर्ण अर्थ राख्ने देश हो ।
पशुपतिनाथलाई आज विश्वका हिन्दुहरूले दर्शन गर्न आउँछन् । अनि पोखरालाई नजिकबाट नियाल्छन् । पोखरा र आसपास क्षेत्रका भएका होमस्टेले पनि पर्यटकको मन लोभ्याउँदै लगेको छ । अझ जातजाति विशेष होमस्टेले झन् नयाँ स्वाद दिँदै आएको छ । गुरुङ, मगर, थकालीलगायतले कल्चरल होमस्टे स्थापना गरी आन्तरिक तथा बाह्य पर्यटकको बसाइ लम्ब्याएको छ । यस अर्थमा सरकारले गर्ने भनेको काम नागरिकस्तरबाटै हुँदै आएको छ ।
अन्त्यमा पोखराको पर्यटन विकासमा राज्यले थप ध्यान दिन जरुरी छ । आगामी समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियानमा सबैको ध्यान जान जरुरी छ । पर्यटक आउनेमात्र होइन, आएका पर्यटकको बसाइ लम्ब्याउने स्थालको निर्माण र आनन्दानुभूति दिन सक्नु पर्छ । नेपाली टिपिकल स्वाद, संस्कृतिलाई एकनासको बनाउनु पर्छ । विश्वमा यसको पहिचान बनाउन ब्रान्डको खोजी हुनु जरुरी छ ।
नेपाली ब्रान्डले विश्वलाई चिनाउनु छ । स्थानीय सरकार यसमा लागिपर्नुपर्छ । पर्यटन क्षेत्रबाट नेपालको भविष्य देखिनु सधैंका लागि फलदायिक हुन सक्छ । पर्यटनको पूर्ण विकास गराउन बहस र अन्तक्र्रिया चलाउनु राज्यको दायित्व बढेको छ । यसमा हुन सक्ने सम्भावनाको खोजी र आगामी दिनमा पोखराले गर्नुपर्छ । यसमा स्थानीय र प्रदेश सरकार प्रमुखले छिटोभन्दा छिटो अन्तर्राष्ट्रियकरणमा ध्यान दिनुपर्छ । सिमसार क्षेत्रको संरक्षण, जलवायु परिवर्तनमा सुधार, शान्ति सुरक्षा, रात्रिकालीन मनोरञ्जनलाई पूर्ण ध्यान दिन सक्नुपर्छ ।