वैशाख २०, काठमाण्डौ । सत्तारुढ दल नेकपाका नेता टोपबहादुर रायमाझीले जनताका अपेक्षा पूरा गराउनका लागि सांसदका लागि १० करोड रुपैयाँ दिनुपर्ने बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै रायमाझीले सांसदलाई दिएको पैसा दुरुपयोग नहुने गरी मापदण्ड बनाएर वितरण गर्नुपर्ने बताए ।
आफ्नो निर्वाचन क्षेत्रमा हुने स–साना विकासे आयोजना जनप्रतिनिधीले नै पूरा गर्न सकिने र जनताको पनि त्यही अपेक्षा हुने भएकाले विकासका लागि नै १० करोड माग गरिएको रायमाझीले बताए ।
सरकारले जनताको आवश्यकता पूरा हुने गरी नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका छन् ।
रायमाझीले ७७ वटै जिल्लालाई समान रुपमा लिएर नीति तथा कार्यक्रम ल्याउनुपर्ने बताएका हुन् ।
केपी ओली नेतृत्वको सरकारले विकास र समृद्धिको मार्गचित्र तयार हुने गरी नीति तथा कार्यक्रम ल्याउनुपर्ने रायमाझीले बताए । तर अहिलेको सरकारले विकास खर्च गर्न नसकेकोप्रति असन्तुष्टी व्यक्त गर्दै रायमाझीले अनुसन्धान गर्नुपर्ने सुझाब दिए ।
रायमाझीले अब छिटै पार्टीको पोलिटव्यूरो गठनको तयारी भइरहेको जानकारी पनि दिएका छन् ।