Logo

‘हामी माथि हातमुख थुनेर काम गर भनिरहेको अवस्था छ’



लालकिशोर साह, मेयर–जनकपुर उपमहानगरपालिका

जनप्रतिनिधि भएर आएको लगभग दुई वर्ष पुग्न लागिसकेको छ । सुरुमा हामीलाई प्रर्याप्त कानुनहरू नहुँदा कामकारबाही गर्न गाह्रो भइरहेको थियो । तैपनि, जनतामा गरिएको वाचाबन्धनअनुसार काम गरिरहेका छौं । हामीले सडकलाई अन्डरग्राउड बनाउन मुख्य भूमिका खेल्यौं । सार्वजनिक जग्गाहरूको संरक्षण गर्ने नीति लियौं । किनकि, जनकपुर नगरपालिकाअन्तर्गत जनकपुरधामसहित धेरै धार्मिकस्थलहरू रहेका छन् । जसका धेरै गुठी जग्गाहरू रहेका छन् । पछिल्लो समय यस जग्गा हडपी किनबेच गर्ने कार्य भइरहेकोले यसलाई व्यवस्थित गर्ने कार्य योजना नै बनाएका छांै ।

स्वच्छ सफा जनकपुर निर्माणमा लागेका छौं । फोहोर व्यवस्थापन गरिरहेका छौं । सडक कालोपत्रे गर्ने काम धमाधम भइरहेका छन् । २०४९ सालमा पनि यस नगरपालिकाको उपमेयर भइसकेकाले स्थानीय जनताको पीरमर्का र कसरी विकास निर्माणको कामलाई अगाडि बढाउनुपर्छ भन्नेमा ध्यान दिइरहेको छु ।

जनकपुर उपमहानगरपालिकाको अर्को समस्या भनेको लामखुट्टेको समस्या हो । त्यसलाई पनि व्यवस्थित गर्नेगरी अगाडि बढिरहेका छौ । स्थानीय सरकारलाई विभिन्न अधिकारहरू दिइरहेको भए पनि हामी माथि हातमुख थुनेर काम गर भनिरहेको अवस्था छ । त्यसका लागि पनि हामीले संघर्ष गरिरहेका छौं । अहिले देशमा तीन तहको सरकार चलिरहँदा राम्रो समन्वय हुने हो भने समृद्धिको यात्रा टाढा छैन ।



प्रतिक्रिया दिनुहोस्