काठमाडौँ, २२ वैशाख : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको सुनौलो भविष्यका लागि समयबद्ध तालिकाअनुसार काम गर्न जरुरी भएको बताउनुभएको छ ।
काङ्ग्रेस पूर्वकोषाध्यक्ष एवं पूर्वमन्त्री रामकृष्ण ताम्राकारको निधनको १३ औँ दिनमा पार्टी केन्द्रीय कार्यालयद्वारा आज यहाँ आयोजित श्रद्धाञ्जलि शोकसभामा उहाँले समयमा पार्टीका सबै तहको अधिवेशन सम्पन्न गर्नुपर्ने बताउनुभयो । नेता पौडेलले काङ्ग्रेसलाई वैकल्पिक शक्तिका रुपमा उभ्याउन जरुरी रहेको उल्लेख गर्दै त्यसका लागि स्व नेता ताम्राकारको जस्तो विचार, सोच र योगदानलाई अनुसरण गर्दै पार्टीलाई बलियो बनाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।
नेता पौडेलले भन्नुभयो, “पार्टीका सबै सङ्गठनका समस्या नयाँ ढङ्गले समाधान गरी अघि बढ्नुपर्छ, नयाँ शुरुआत गरेर पार्टीलाई सबल बनाएर काङ्ग्रेसले विकल्प दिनुपर्छ ।” जनताले कस्तो काङ्ग्रेस हेर्न चाहेका छन् त्यस्तो पार्टी बनाउन सबै लाग्न उहाँले आग्रह गर्नुभयो । “अबको एक÷दुई वर्षमा स्थानीय निर्वाचन शुरु हुन्छ, त्यसपछि राष्ट्रिय निर्वाचन हुन्छ, त्यसको सामना गर्न अहिलेदेखि नै तयारी गर्नुपर्छ”, नेता पोडेलले उल्लेख गर्नुभयो ।
त्यसका लागि कार्यकर्तालाई प्रशिक्षण गरी मूल्याङ्कन गर्नुपर्ने र उचित व्यक्तिलाई उचित स्थानमा जिम्मेवारी दिएर काम गर्नुपर्ने उहाँको सुझाव थियो । कार्यक्रममा पार्टी उपसभापति विमलेन्द्र निधिले पार्टी एकता र सुदृढीकरणमा स्व नेता ताम्राकारको योगदानको स्मरण गर्दै उहाँ दूरदर्शी राजनीतिकार भएको बताउनुभयो ।
फरक प्रसङ्गमा उपसभापति निधिले संविधानको पूर्ण कार्यान्वयन एवं राजनीतिक प्रणालीको पूर्णताका लागि काङ्ग्रेसले जिम्मेवारीपूर्वक अगुवाइ गर्नुपर्ने र त्यसका लागि पार्टीको आन्तरिक एकता बलियो बनाउन आवश्यक रहेको बताउनुभयो । पार्टीका पूर्वमहामन्त्री एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले स्व नेता ताम्राकारले विगतमा पार्टी विभाजनका बेला एकताका लागि गर्नुभएको योगदानको स्मरण गर्दै उहाँका सोच, धारणा र योगदानलाई आत्मसात् गरी अघि बढ्नसके उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने धारणा व्यक्त गर्नुभयो ।
काङ्ग्रेस कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमन्त्री एवं पार्टीका नेता डा रामशरण महत, केन्द्रीय सदस्य मीन विश्वकर्मा, पूर्वकेन्द्रीय सदस्य होमनाथ दाहाल, काठमाडौँ काङ्ग्रेस जिल्ला कार्यसमितिका सभापति कृष्ण सबुज बाँनियालगायतले राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रति अटल, आस्था र समर्पणभाव राख्ने नेता ताम्राकारको निधनले काङ्ग्रेस र सिङ्गो मुलुकलाई अपूरणीय क्षति पुगेको उल्लेख गर्नभएको थियो ।
पूर्वस्वास्थ्य र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीसमेत रहनुभएका नेता ताम्राकारको यही वैशाख १० गते उपचारका क्रममा निधन भएको थियो । स्व नेता ताम्राकारले पार्टीका संस्थापक नेताहरु बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शम्शेर, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको सानिध्यमा रही प्रजातान्त्रिक आन्दोलनमा जीवन पर्यन्त क्रियाशील रहनुभएको थियो ।
राजनीतिक जीवनबाहेक पनि स्व नेता ताम्राकारले शान्ति, बुद्ध दर्शन, विभिन्न स्थानमा गुम्बा, मठमन्दिर निर्माण कार्यमा पनि विशिष्ट योगदान पु¥याउनु भएको थियो । रासस