काठमाडौं, २२ बैशाख । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता तथा सांसद अग्नी सापकोटाले सरकारलाई ‘लाचार र निरीह’ को संज्ञा दिएका छन् । संसद बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै नेता सापकोटाले आफ्नै दलको नेतृत्वमा रहेको सरकारलाई ‘लाचार र निरीह’ भनेका हुन् ।
भ्रष्टाचारले मुलुक आक्रान्त बनेकामा चिन्ता प्रकट गर्दै उनले सरकारले भ्रष्टाचार निर्मुल गर्न कठोर कदम चाल्नुपर्ने धारणा राखे। सापकोटाले भने,‘सरकार यति कमजोर छ, यति लाचार छ । हामीलाई विज्ञताको कुनै सहयोग भएन । विज्ञताको यति खाँचो पर्यो । हामीलाई यति धेरै स्रोत–साधनको खाँचो पर्यो । के रहेछ भने नेपालमा मिलाएर जति पनि खाए नि खाउ तर श्रम गर्नेहरुलाई चैं रहेनछ।’
शक्तिशाली उच्चस्तरीय आयोग गठन गरेर सम्पूर्ण सरकारी जग्गा सरकार मातहत ल्याउन उनको सुझाव थियो । सरकारलाई कमजोर बनाउन सुनियोजित षड्यन्त्र गरेर सरकारी जग्गाहरु कब्जा भइरहेको तर्क उनको थियो । भू-माफिया र बिचौलियाप्रति कठोर नहुने हो भने नियतिले आफ्नो बाटो लिने र समयले कसैलाई नपर्खने उनको चेतावनी थियो ।