Logo

संसदमा प्रतिपक्षको आक्रोष : महारानीदेखि भाङसम्मको चर्चा



वैशाख २२, काठमाण्डौ । आर्थिक वर्ष २०७६–७७ को नीति तथा कार्यक्रममाथि आजबाट संघीय संसदमा छलफल सुरु भएको छ । छलफलमा सहभागि सांसदहरुले नीति तथा कार्यक्रम महत्वहिन भएको तर्क गरे । छलफलका क्रममा नीति तथा कार्यक्रममा राष्ट्रपतिले ‘मेरो सरकार’ भनेको विषयले पनि निकै चर्चा पायो ।

सरकारले ल्याएको नीति तथा कार्यक्रममा राष्ट्रपतिले ‘मेरो सरकार’ भनेकोमा प्रमुख विपक्षी नेपाली कांग्रेसले आपत्ति जनाउँदै बेलायती महारानीको शैली नक्कल गरिएको टिप्पणी गरेको छ । आइतबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै विपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले मेरो सरकार भन्न लगाएर सरकारले नै राष्ट्रपतिको संस्थालाई विवादमा तानेको बताउनुभयो ।

बेलायती महारानीको शैलीमा सम्बोधन गर्न लगाएर राष्ट्रपतिलाई विवादमा पार्नु लोकतान्त्रिक गणतन्त्रका लागि शुभसंकेत नभएको पनि देउवाले बताउनुभयो । देउवाले सरकारले नीति तथा कार्यक्रममा उडन्ते कार्यक्रमहरु राखिएको टिप्पणी गर्दे आफ्नो सरकारको पालामा शुरु भएका कार्यक्रमहरुको जस लिन खोजेको आरोप लगाउनुभयो । नेता देउवाले भारत र चीन जोड्ने रेल रणनीतिक महत्वको भएको भन्दै यो अनुदानमा मात्र बन्नुपर्ने सुझाव दिनुभयो ।

सरकारको नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र नेककिपाले संशोधन पेश गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा उक्त दलका सांसदहरुले संशोधन प्रस्ताव पेश गरेका हुन् ।

काङ्ग्रेसका २३ जना सांसदका तर्फबाट संशोधन पेश गर्दे सांसद मीनेन्द्रप्रसाद रिजालले सरकारको नीति तथा कार्यक्रममा नेपालको संविधानको भावना विपरीत लेखिएको ‘मेरो सरकार’ लाई ‘नेपाल सरकार’ भनी संशोधन गर्नुपर्ने माग गर्नुभयो । उहाले मेरो सरकार भन्ने शव्दले राजसंस्थाको झल्को दिएको पनि बताउनुभयो ।

त्यस्तै उहाले बुँदामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम केन्द्रिकृत भएको आरोप लगाउदै संघीयतालाई कमजार बनाउने गरि नीति तथा कार्यक्रम आएको तर्क गर्नुभयो । रिजालले प्रस्तुत नीति तथा कार्यक्रममा विद्यमान परिस्थितिमा आवश्यक नीतिगत प्रस्टतासहित सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न नसक्ने बताउँदै समग्रतामा नै नीति तथा कार्यक्रम संशोधन गर्नु अपरिहार्य हुने बताउनुभयो ।

त्यस्तै संसोधन पेश गर्दे राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले नीति तथा कार्यक्रममा संविधानमा विपत्ती छैन भन्ने बिषयमा आपत्ती रहेको भन्दै संसोधन पेश गरेको बताउनुभयो । उहाले सरकारको नीति तथा कार्यक्रम सफेद झुट भएको टिप्पणी पनि गर्नुभयो । महतोले त सरकारले भाङ खाएर नीति तथा कार्यक्रम बनाएको भन्दै कटाक्ष गरे ।

त्यस्तै सांसदहरु लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, चन्द्रकान्त चौधरीले नीति तथा कार्यक्रमको बुँदा नं ७ ८, २०, ७९ र ३८ मा सशंोधन हुनुपर्ने माग गरेका थिए । बैठकको सुरुमा प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख २० गते शुक्रबार राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरिएको सम्बोधनमा उल्लिखित आर्थिक वर्ष २०७६÷७७ का लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गर्न प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।



प्रतिक्रिया दिनुहोस्