वैशाख २३, काठमाण्डौ । नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम नेपालबीच आज पार्टी एकता हुँदैछ । पार्टी एकताबारे कुरा गर्दै नयाँ शक्तिका नेता गंगा श्रेष्ठले आफूहरुले बनाउने नयाँ दल नेपाली कांग्रेस र नेकपाको वैकल्पिक शक्ति हुने दावी गरेका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै श्रेष्ठले देश निर्माणका लागि बदलिएको परिस्थिनीमा नयाँ राजनीतिक समिकरणको आवश्यकता रहेकाले दुई दल एक हुन लागेको बताए ।
अहिले तत्काल फोरमसँग एकता भए पनि विस्तारै अन्य दलहरुसँग पनि एकताको प्रयास गरिने श्रेष्ठले बताए ।
नेपाली कांग्रेस, नेकपा र राजावादीबाहेक अरु सबै दलसँग एकताको विषयमा छलफल भइरहेको श्रेष्ठले बताए ।
एकतापछि सरकारबाट बाहिरिने वा बसिरहने भन्ने विषयमा छलफल हुने श्रेष्ठले बताए । सम्भव भएसम्म आज एकता घोषणा गर्नुअघि नै सरकारबाट बाहिरिने निर्णय पनि हुन सक्ने श्रेष्ठले बताए ।