काठमाडौं, २३ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सरकारको नीति तथा कार्यक्रम ‘सतही’ भएको टिप्पणी गरे ।
सोमबार प्रतिनिधिसभाको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले गत वर्ष यही सरकारले ४३ पृष्ठ लामो १०३ बुँदासहितको नीति तथा कार्यक्रम ल्याएको स्मरण गर्दै तिनमा उल्लेखित कति कार्यक्रम कार्यान्वयन भए भन्नेबारे समीक्षा हुनुपर्ने बताए ।
अहिले सरकारले ४६ पृष्ठ लामो २०८ बुँदा समेटिएको नीति तथा कार्यक्रम ल्याएको चर्चा गर्दै उनले युरेनियमदेखि रेलसम्म छरपस्ट आयोजना समेटिएको जिकिर गरे । बेरोजगारी रहेसम्म देशबाट गरिबी हट्न नसक्ने प्रष्ट पार्दै उनले भने, ‘पाँच वर्षपछि रोजगारीका लागि विदेश जान पर्दैन भनेर घोषणा गरिएको थियो । कति व्यक्तिले विदेश जानु नपर्ने गरी मुलुकमा रोजगारी सिर्जना भयो भन्ने विवेचना गर्न जरुरी छ ।’
सरकारको नीति तथा कार्यक्रम महत्वाकांक्षी, कामभन्दा प्रचार र प्रोपोगाण्डामा केन्द्रित रहेको उनको भनाइ थियो । ‘नीति र कार्यक्रम एक वर्षका लागि हो तर दुई वर्ष, चार वर्ष पछिका कार्यक्रमलाई प्राथमिकता दिइएको छ,’ उनले भने । सरकारले प्रतिकुल तथ्यांक लुकाउने गरेको आरोपसमेत उनले लगाए । तथ्यांकमाथि राजनीतिक नगर्न उनले सरकारलाई सचेत गराए ।