काठमाडौं, २३ बैशाख । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राईम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले रिपोर्टर्स क्लब नेपाल सधैंभरि राष्ट्रिय पोशाकको पक्षमा रहेको सुनाउँदै आगामी दिनमा पनि क्लबले यसलाई बहसको रुपमा जनतासामू लैजाने विश्वास दिलाए ।
सोमबार राष्ट्रिय पोशाक संरक्षण महाअभियानले आयोजना गरेको विशेष कार्यक्रममा सबै राजनीतिक दलहरुलाई सहमति गराएर आगामी दिनमा राष्ट्रिय पोशाक अनिवार्य गराउनको लागि अभियान चलाउनुपर्ने पनि धमलाले जोड दिए । उनले भने,‘राष्ट्रिय पोशाकको विकल्प छैन । जनप्रतिनिधिहरुले राष्ट्रिय पोशाक लगाएमात्रै आम जनताले त्यसलाई अनुशरण गर्नेछन् ।’
आफूले नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग दौरा–सुरुवाल लगाएर अन्र्तवार्ता लिने र त्यो दिन प्रचण्डपनि दौरा सुरुवालमै उपस्थिति हुने धमलाले विश्वास दिलाए । उनकाअनुसार आगामी जेठ १५ गते अर्थात गणतन्त्र दिवसको दिन प्रचण्डसँग राष्ट्रिय पोशाकसहित अन्र्तवार्ता हुनेछ ।
महाभियानका अध्यक्ष विवश घिमिरेले सभापतित्व गरेको कार्यक्रममा अभियानले गरेका कामहरुको बारेमा प्रकाश पारिएको थियो । महाअभियाले औपचारिक राष्ट्रिय पोशाकको माग गर्दै बैशाख १ गते प्रस्तावित राष्ट्रिय पोशाक दिवस मनाउँदै आएको, ललितपुरको महाँंकाल गाउँपालिका र काभ्रेको नमोवुद्ध नगरपालिकासँग समन्वय गरी गाउँपालिका र नगरपालिकाको औपचारिक पोशाकको रुपमा दौरासुरुवाल टोपी तथा गून्यौचोलीलाई घोषणा गरेको र अन्य स्थानीय तहमा घोषणाको तयारी गरिरहेको, देशका विभिन्न जिल्लाहरुमा जिल्ला समिति निर्माण गरि कार्यक्रमहरु सञ्चालन गरिरहेको लगायत विभिन्न कामहरु गरेको सुनाएको छ ।