Logo

शंकाको घेरामा प्रधानमन्त्री ओलीको कम्बोडिया र भियतनाम यात्रा (भिडियोसहित)



वैशाख २६, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली आजबाट ६ दिन देश बाहिर हुने भएका छन् । भियतनाम र कम्बोडियाका प्रधानमन्त्रीको निम्तो मान्न बिहीबार त्यसतर्फ जान लागेका ओली ६ दिन उतै व्यस्त हुन लागेका हुन् ।

भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा प्रधानमन्त्री ओली बिहीबार बिहान त्यसतर्फ प्रस्थान गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

भ्रमण सफल हुने सरकारको दावी छ । तर केही विवाद र आशंका पनि सुरु भएको छ ।

प्रधानमन्त्री ओली भियतनामका प्रधानमन्त्री न्वेन सिएन फुक र क्याम्बोडियाका प्रधानमन्त्री हुन सेनको निमन्त्रणामा दुई देशको भ्रमणमा जान लागेका हुन् । क्याम्बोडियाका प्रधानमन्त्री हुन सेन सन् २०१८ मा नेपालमा भएको विवादास्पद एशिया प्यासिफिक समिटमा पनि भाग लिन आएका थिए । त्यो भन्दा अघि संयुक्त राष्ट्र संघको महासभामा भाग लिन गएको बेलामा प्रधानमन्त्री ओली र हुनसेनबीच न्यूयोर्कमा नै कुराकानी भएको थियो । उनको नेपाल भ्रमणको क्रममा केही समझदारी भएपनि उल्लेख्य रुपमा दुई देशबीच सहकार्य भने भएको छैन । अहिले दुवै देशमा बुद्ध धर्म मान्ने गरिएको छ । अनि दुवै देश अहिले कम्युनिष्ट सत्तामा रहेका देशका रुपमा समेत चिनिन्छन् । त्यसैले कम्युनिष्ट वा बुद्धको नाता जे लगाएपनि हुने अवस्था देखिएको छ ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले प्रधानमन्त्री ओलीको भ्रमण भियतनाम र कम्बोडियासँग द्धिपक्षीय सम्भावनाको खोजी गर्नमा पनि केन्द्रित हुने बताउनुभएको छ । सल्लाहकार भट्टराईले भियतनाम आसियानको पनि सदस्य राष्ट्र भएकोले प्रधानमन्त्रीको भ्रमणमा द्धिपक्षीय व्यापारको बारेमा पनि कुराकानी हुने जिकीर गर्नुभएको छ ।

भियतनामका प्रधानमन्त्रीले पटक–पटक निमन्त्रणा दिएकोले प्रधानमन्त्री त्यसतर्फ जान लागेको पनि उहाले जानकारी दिनुभयो । भट्टराईले बहसंख्यक भियतनामी जनताले बुद्ध धर्म मान्ने भएकोले नेपालमा बुद्धिष्ट पर्यटकहरु भित्र्याउनको लागि पनि प्रधानमन्त्रीको भ्रमण फलदायी हुने विश्वास गर्नुभयो ।

राजनीतिक बिश्लेशकहरु भने प्रधानमन्त्रीको भ्रमणलाई कम्युनिस्ट भेलाको संज्ञा दिएका छन् । नेपाल जस्तो लोकतान्त्रिक राज्य व्यवस्था भएको देशको कार्यकारी प्रमुख एउटा निरंकुश शासन भएको देशको प्रमुखले बोलाँउदा जानुलाई धेरैले शन्काको घेराले हेर्न थालेका छन ।

राजनीतिक विश्लेशक सुरेन्द्र केसीका अनुसार यो सरकारले बोल्ने एक थरी र गर्ने अर्कोथरी भएका कारणले गर्दा त्यहाँ जुन एजेण्डा भनेपनी त्यो वास्तवमै कम्युनिस्टको भेला भएको दाबी गर्छन् ।

संयुक्त राष्ट्र संघले पनि ‘वेशाक डे’को रुपमा बुद्ध जयन्तीलाई मनाउने गरेको छ । सांस्कृतिक कार्यक्रम, बुद्धको शिक्षाको शिक्षण र नाटक प्रदर्शन गरिन्छ । धार्मिक नेताहरुले सन्देश दिन्छन् । गरिबलाई दान दिने गरिन्छ ।

सन् १९९९मा संयुक्त राष्ट्र संघले औपचारिक रुपमा यो दिवसलाई मान्यता दिएको हो । २५०० वर्ष पुरानो धर्म भएकोले बुद्ध धर्मलाई विश्वकै पुरानो धर्म मध्येमा लिइने गरिएको छ । संस्कृति र परम्परालाई जगेर्ना गर्नको लागि तथा ब्यापार सम्झौताको लागि भनिएको प्रधानमन्त्रीको भ्रमण अन्य राष्ट्रघाती सम्झौतामा केन्द्रित नहोस भन्ने विज्ञहरको सुझाब छ ।

प्राइम टाइम्स टेलिभिनजको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै अरुण कुमार सुवेदी, टंक कार्की र संग्राम सिंखडाले भ्रमणबारे विशेष विश्लेषण गरेका छन् ।

तीनजनासँगको कुराकानी यहाँ हेर्नुहोला ।

प्रधानमन्त्रीसँगै उनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, संघीय संसद्का सदस्य, राष्ट्रिय योजना आयोगका पदाधिकारी, विभिन्न मन्त्रालयका उच्चपदस्थ सरकारी अधिकृत र गैरसरकारी क्षेत्रका प्रतिनिधि तथा सञ्चारकर्मी पनि त्यसतर्फ जाने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओली सुरुमा भियतनाम जानेछन् । जहाँ उनी वैशाख २६–३० गतेसम्म व्यस्त रहनेछन् ।

त्यहाँ रहँदा उनले भियतनामका आफ्ना समकक्षी फुकसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । ओलीले नेशनल एसेम्बेलीका अध्यक्षसँग पनि भेटघाट गर्ने कार्यक्रम बनेको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले त्यहाँको ह नाम प्रान्तमा आयोजना हुने अन्तरराष्ट्रिय वैशाख दिवस तथा हो चि मिह्न राष्ट्रिय राजनीति प्रतिष्ठान र नेपाल–भियतनाम व्यवसाय मञ्चलाई सम्बोधन गर्नेछन् । दुई देशबीच द्विपक्षीय सम्बन्ध प्रगाढ पार्न केही सम्झौतासमेत हुने बताइएको छ । यद्यपि, परराष्ट्रले त्यसबारे केही प्रष्ट्याएको छैन ।

प्रधानमन्त्री ओली भियनतामको भ्रमण सकाएर जेठ ३० गते नै उतैबाट कम्बोडिया लाग्नेछन् । त्यहाँ उनले आफ्ना समकक्षी हुन सेन, नेशनल एसेम्बली र सिनेटका अध्यक्षसँग भेट गर्ने तय भएको छ ।

भियतनामको भ्रमणमा जस्तै कम्बोडियामा रहँदा पनि उनले द्विपक्षीय हित प्रवर्द्धनलगायत विषयमा छलफल गर्ने परराष्ट्रले जनाएको छ ।

प्रधानमन्त्री ओली आगामी जेठ १ गते स्वदेश फर्कने कार्यक्रम छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot