डा. उपेन्द्र महतो, (गैरआवासीय नेपाली संघ, संस्थापक अध्यक्ष एवम् प्रमुख संरक्षक) : मुलुकको समृद्धिको प्रमुख आधार भनेको नै राजनीतिक स्थायित्व हो । तर, यसले मात्रै समृद्धि हासिल हुने होइन, समृद्धिको लागि सरकारसँग स्पष्ट भिजन हुनुपर्छ । जुन अहिलेको सरकारले देखाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली समृद्धिको लागि स्पष्ट नारासहित अघि बढ्नुभएको छ । उहाँले अघि सार्नुभएको नारालाई साकार पार्न सरकार त्यहीअनुरूप एक्सनमा खरो रूपमा उत्रिनुपर्छ ।
लामो समयपछि मुलुकमा बलियो सरकार आएको छ । यो मुलुक र जनता दुवैको लागि ठूलो अवसर हो । इतिहासमा विरलै प्राप्त हुने अवसर नेकपा नेतृत्वको वर्तमान सरकारलाई प्राप्त भएको छ । सरकार र निजी क्षेत्र दुवैको सामूहिक प्रयासमा नै मुलुक समृद्ध बन्छ । सरकारले पूर्वाधारको विकासमा विशेष जोड दिनुपर्छ । बाटोघाटोदेखि लिएर अन्य पूर्वाधारको क्षेत्रमा द्रुत गतिमा काम हुनुपर्छ ।
अहिले नगरे कहिले गर्ने ? र हामीले नगरे कसले गर्ने ? भन्ने भावना हामी सबै सचेत नागरिकमा हुन जरुरी छ । नेपालीले संकल्प गरे मुलुकलाई चाँडै समृद्ध बनाउन सकिन्छ । यसमा कुनै दुई मत छैन । म त यो कुरामा धेरै पहिलेदेखि विश्वस्त छु । र, दशकौंदेखि यो कुराको वकालत गर्दै आएको छु । मलाई गरिब देशको धनी नागरिकभन्दा पनि समृद्ध मुलुकको नागरिक भएर मर्ने इच्छा छ । हामीले नगरेसम्म कसैले हाम्रो देश आएर बनाउँदैन् । हाम्रो देश विदेशीले आएर बनाई दिँदैनन् । हामी आफंैले बनाउनुपर्छ । नेपालीले संकल्प गरे मुलुकको विकास गर्न सकिन्छ ।
नेपाललाई स्वास्थ्य, शिक्षा र खेलकुदको अन्तर्राष्ट्रिय केन्द्र (हब) बनाउन सकिन्छ । नेपालजस्तो प्राकृतिक, सांस्कृतिक, भौगोलिक विविधतायुक्त मुलुक विश्वमा एकदमै कम छन् । आफ्नो शक्तिको सदुपयोग गरेर हाम्रो देशले छिट्टै नै समृद्धि हासिल गर्न सक्छ । राष्ट्रिय स्रोत र साधनको भरपुर उपयोग गर्नुपर्छ । अर्थतन्त्र बलियो बनाउनको लागि उत्पादनमा ध्यान दिनुपर्छ ।
मुलुकको समृद्धिको लागि छिमेकहरूसँगको सम्बन्ध पनि उत्तिकै महत्व छ । भारत हाम्रो तीनतिरको खुल्ला सिमाना भएको मित्रराष्ट्र हो । भारतसँग हाम्रो ऐतिहासिक सम्बन्ध छ । शदीयौंदेखि हामीबीच सुमधुर सम्बन्ध छ । जनस्तरमै दुई देशबीच प्रगाढ सम्बन्ध छ । आगामी दिनमा यसलाई अझै उचाइमा पु¥याउनुपर्छ । त्यस्तै, चीनसँग पनि हाम्रो उत्तिकै सुमधुर सम्बन्ध छ । नेपालको विकासमा भारत र चीन दुवैले सघाउँदै आएका छन् । भारतीय लगानी, चिनियाँ प्रविधि र पुँजी नेपाल भित्र्याउनुपर्छ ।
भारत र चीन दुवै विश्व मञ्चमा उदीयमान अर्थतन्त्र हुन् । नेपालले उनीहरूको विकास र समृद्धिबाट लाभ लिनुपर्छ । त्यसको लागि सरकारले कूटनीतिक चातुर्यता र कौशलता देखाउनुपर्छ । पारस्परिक लाभको आधारमा दुवै देशसँग सम्बन्ध कायम गर्नुपर्छ । अहिले अनुकूल समय छ । नेपालको विकास र समृद्धिमा साझेदार गर्दै आएका अन्य देशहरूसँग पनि हामीले सुमधुर सम्बन्ध कायम गर्दै जानुपर्छ । जापान, अमेरिका, युरोपलगायतका देशसँगहरू आर्थिक साझेदारी बढाउनुपर्छ ।
नेपालका पर्यटन, हाइड्रोपावर, कृषि, शिक्षा, स्वास्थ्यलगायतका विभिन्न क्षेत्रहरूमा प्रचुर सम्भावनाहरू छन् । यी सम्भावनाका बारेमा हामीले हाम्रो विदेशी मित्रहरूलाई समेत बुझाउनुपर्छ । कृषि र स्वास्थ्य क्षेत्रमा बढीभन्दा बढी लगानी हुनुपर्छ । त्यसपछि मात्र नेपालको विकास सम्भव हुन्छ । पहिले नेपालबाट कृषिजन्य सामग्री अन्यत्र निकासी हुन्थ्यो, तर अहिले छिमेकी देशबाट कृषिजन्य सामग्री देशभित्र आयात भइरहेको छ । यो अत्यन्तै दुःखदायी कुरा हो । कृषि क्षेत्रमा आधुनिकीकरण र उत्पादकत्व बढाउने गरी योजना कार्यान्वयन नहुञ्जेलसम्म नेपालको विकासलाई अगाडि बढाउन सकिँदैन । सरकारले कृषिमा आधुनिकीकरणसँगै लगानी पनि बढाउनुपर्छ ।
नेपालको समृद्धिको लागि गैरआवासीय नेपालीहरूलाई महत्वपूर्ण हिस्सेदारको रूपमा लिइनुपर्छ । एनआरएनए आफंैमा अभियान हो । विदेशमा आर्जेको पुँजी, ज्ञान र सीपलाई स्वदेशको विकास र समृद्धिमा लगाउनु नै हाम्रो मुख्य ध्येय हो । त्यही संकल्पका साथ अहोरात्र खटिरहेका छौं । सरकारसँग हातेमालो गरेर मुलुकको समृद्धिमा सहभागी भइरहेका छौं ।
प्रधानमन्त्री केपी शर्मा ओली समृद्धिको लागि देख्नु भएको सपना सही र सान्दर्भिक छ । समृद्धि प्राप्तिको लागि उहाँले चाल्नुभएको पाइला सही दिशातर्फ अग्रसर छन् । सबैले आ–आफ्नो ठाउँबाट योगदान पु¥याउनुपर्छ । विदेशी लगानीकर्ताहरूको रोजाइमा हाम्रो देश परेको छ । थुप्रै देशका लगानीकर्ताहरू यहाँ आउन इच्छुक हुनुहुन्छ । मलाई विश्वास छ कि ठूलो लगानी बल्कमा भित्रियो भने सानोतिनो लगानी स्वतःस्फूर्त रूपमा भित्रिन्छ । त्यसैले विदेशी लगानी बल्कमा नेपालमा भित्र्याउन सबैजना लागि पर्नुपर्छ । हालै काठमाडौंमा सम्पन्न भएको लगानी सम्मेलनले विश्वभरि राम्रो सन्देश प्रवाह भएको छ । Photo Source: Business 360