Logo

‘बौद्ध दर्शनका विचार र आदर्श समाजवादको नमूना’



काठमाडौं, २९ बैशाख। गृहमन्त्री रामबहादुर थापाले देशमा भ्रष्टाचारको अन्त्य गरी सामाजिक न्याय र समानता कायम भएपछि समृद्धि प्राप्त हुने बताउनुभएको छ ।

बौद्ध दर्शन प्रवद्र्धन ताथ गुम्बा विकास समितिले आज यहाँ आयोजना गरेको परिचयपत्र वितरण कार्यक्रममा उहाँले बौद्ध दर्शनको शिक्षाबाट समाजलाई नैतिकवान, अनुशासित र मर्यादित बनाउन सकिने तथा त्यसले शान्ति र स्थायित्व कायम भई समाजवाद कार्यान्वयन हुन सक्ने विचार व्यक्त गर्नुभयो ।

विश्वमा युद्धका लागि खर्बौ रुपैयाँ खर्च भइरहेकामा चिन्ता व्यक्त गर्दै मन्त्री थापाले हातहतियार तथा युद्धका लागि हुने त्यो रकम शिक्षा स्वास्थ्यमा लगानी भएमा धेरैको कल्याण हुने बताउनुभयो । बुद्धले तत्कालीन समाजमा व्याप्त असमानता, विभेदको अन्त्यका लागि शुरु गरेको बौद्ध दर्शनमा व्यवस्था गरिएका विचार र आदर्श समाजवादको नमूना भएको उहाँको भनाइ थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाले बौद्ध साहित्यको महत्व अहिले पनि बढेको बताउनुभयो । लुम्बिनीलाई धार्मिक पर्यटकको आकर्षक केन्द्रस्थल बनाएर आय आर्जन गर्न सकिने विचार व्यक्त गर्नुभयो ।

आयोजक संस्थाका कार्यकारी अधिकृत नरेन्द्रबहादुर गुरुङले विभिन्न जाति र समुदायको बसोबास भएको मुलुकमा विभिन्न संस्कृति र सम्पदाले गर्दा हामी सम्पन्न भएको हुँदा तीनको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । बौद्ध दर्शनसम्बन्धी विभिन्न तहका अध्ययन पूरा गरेका गुरुलाई परिचय पत्र वितरण गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्