रौतहट, ३० बैशाख । उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्धिका लागि विकासको प्रतिस्पर्धा गर्ने बेला आएको बताउनुभएको छ । उहाँले विकास र समृद्धिका लागि नेपाली जनताको चाहना पूरा गर्नका लागि प्रतिस्पर्धा गर्नुपर्ने समय आएको बताउनुभयो । अब प्रदेश–प्रदेश र स्थानीय तहबीचको प्रतिस्पर्धा विकास र समृद्धिका लागि गर्नुपर्ने उपराष्ट्रपति पुनले बताउनुभयो ।
रौतहटको कटहरिया नगरपालिकामा आज आयोजित जानकी महोत्सव कार्यक्रममा उहाँले स्थानीय तथा प्रदेश सरकारले सुशासनका लागि प्रतिस्पर्धा गर्न आग्रह गर्दै अनियमितता र भ्रष्टाचार समृद्धिको साझा शत्रु भएको बताउनुभयो । विकासको बाधक अनियमितता र भ्रष्टाचार भएकाले तल्लोस्तरबाट खबरदारी गर्नुपर्ने जरुरी रहेको उहाँको भनाइ थियो ।
प्रदेश नं २ ले विकास र समृद्धिको यात्रामा अब्बल साबित गर्ने विश्वास लिएको उपराष्ट्रपति पुनले बताउनुभयो । विकास र समृद्धिका लागि प्रचुर सम्भावना बोकेको प्रदेश भएकाले सक्षम बन्ने उहाँको बुझाइ छ । उपराष्ट्रपति पुनले देश स्थायी शान्ति, दिगो विकास र आर्थिक समृद्धिको मार्गमा अग्रसर रहेको उल्लेख गर्नुभयो ।
विकास र समृद्धि नै प्राथमिकतामा रहेको बताउँदै उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय अभियानलाई सार्थक तुल्याउन सबैको योगदान रहनुपर्ने बताउनुभयो । हरेक जनताको आर्थिक, सामाजिक रुपान्तरणसहितको समुन्नत र समृद्ध राष्ट्र निर्माण आजको हाम्रो अभिभारा भएको उपराष्ट्रपति पुनले बताउनुभयो । नेपाल विविधतायुक्त समुदाय, धर्म, भाषा संस्कृतिले धनी भएकाले कसैसँग तुलना गर्न नमिल्ने उहाँले बताउनुभयो ।
त्रेतायुगमा जन्मेकी महान् नारी सीताको विचारलाई पुनः स्मरण र मनन गर्न जरुरी रहेको उपराष्ट्रपति पुनले बताउनुभयो । सीताको विचारलाई जनमानससम्म पु¥याएर महिलामाथि हुने भेदभाव, हिंसा तथा उत्पीडनको अन्त्य वा न्यूनीकरणका लागि मद्दत पु¥याउने उहाँको धारणा थियो । सो अवसरमा पूर्वमन्त्री तथा सांसद प्रभु साहले सीता सहनशील नारी भएकाले उहाँबाट सिक्नुपर्ने धारणा राख्नुभयो । उहाँले हरेक समस्या र चुनौतीको सामना गर्ने एक सहनशील नारीका रुपमा सीता माता परिचित रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा नेकपाका नेता युवराज भट्टराईले नेपाली समाजमा मात्र नभई अन्तर्राष्ट्रियजगत्मा समेत सीताको आदर्शको महत्व रहेको बताउनुभयो । कार्यक्रममा सामाजिक योगदान पु¥याएका महिला तथा राष्ट्रिय खेलाडीलाई उपराष्ट्रपति पुनले सम्मान गर्नुभएको थियो । उहाँले आजै ‘तराई मधेश जनयुद्ध शहीद स्मृति प्रतिष्ठान भवन’को उद्घाटन गर्नुभएको थियो ।