Logo

ओली नभएको मौकामा वामदेवको गोप्य बैठक !



काठमाडौं, ३१ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरु पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध मोार्चाबन्दी कस्न व्यस्त छन् । प्रधानमन्त्री ओली भियतनाम र कम्बोडियाको भ्रमणमा छन् । यही मौका छोपेर ओलीसँग सुरुदेखि नै रुष्ट बनेका प्रभावशाली नेता बामदेव गौतमले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित बरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाललाई भेला गरी गोप्य छलफल गरेका छन् ।

पछिल्लो समय सरकार एकपछि अर्कोगरि विवादमा मुछिएको भन्दै उनीहरुले प्रधानमन्त्री एवम् अध्यक्ष ओलीविरुद्ध मोर्चाबन्दी कसेका हुन् । आगामी जेठ १५ गते बजेट आउँदैछ । नीति तथा कार्यक्रमपनि विवादमा परेकोले अब जनतामा निराशा आउन नदिनेगरि अघि बढ्नुपर्ने उनीहरुको निश्कर्ष छ । सरकारले चालेका हरेक कदममा अध्यक्ष प्रचण्डपनि भित्रभित्रै असन्तुष्ट छन् । तर, उनले खुलेर ओलीको विरोध गरेका छैनन् ।

पोलिटव्यूरोलगायत पार्टीका विभिन्न सांगठानिक एकतापनि तत्काल टुँगो लगाउनुपर्ने पार्टी पंक्तिबाट ठूलो दबाब छ । अध्यक्षद्धय ओली र प्रचण्डले पनि यो विषयमा गम्भिर भएर छलफल गर्दै आएका छन् । प्रधानमन्त्री ओली विदेश उड्नुअघिसम्म पनि उनीहरुबीच एकता प्रक्रियालाई अब टुँगोमा पुर्याउनेगरि छलफल भएको थियो । सम्भवतः प्रधानमन्त्री स्वदेश फर्किएलगत्तै यो विषयमा उनीहरुबीच एक चरण छलफल हुन्छ । जेठ ३ गते पार्टीका सबै एकता टुँगो लगाउने ओलीको तयारी छ ।



प्रतिक्रिया दिनुहोस्