Logo

मर्नुभन्दा अघि फेरि अर्को चमत्कार गर्ने प्रचण्डको घोषणा



‘समाजवादका लागि नयाँ विचारको विकास गर्नुपर्छ’
काठमाडौं, १ जेष्ठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादका लागि नयाँ विचारको विकास गर्नुपर्ने बताउनुभएको छ । युवा सङ्घ, नेपालको स्थापना दिवसमा आयोजित विशेष समारोहमा बोल्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘नयाँ राजनीतिक कार्यदिशा र संगठनात्मक प्रणालीको विकास गर्नुपर्छ’ ।

सही विचार कुनै अमुर्त वस्तु होइन, यो कल्पनामा आउने कुरा पनि होइन । वर्गसङ्घर्ष, उत्पादनका निम्ति सङ्घर्ष र वैज्ञानिक प्रयोगबाट नै सही विचार आउँछ । मेरै विचार ठीक अरुको गलत भन्ने मानसिकताले हामी ठीक ठाउँमा पुग्दैनौं । अब युवाहरुले समाजवादका निम्ति वैचारिक बहस र सङ्घर्ष गर्ने बेला आएको छ ।’

उहाँले मार्क्सवाद धर्मशास्त्र, बाइवल वा कुनै बनिबनाउ शास्त्र नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मार्क्सवाद कुनै धर्मशास्त्र, कुनै बाइवल वा यस्तै बनिबनाउ सिद्धान्त होइन । विचार पनि समाजसँगै गतिशील हुन्छ, विकसित हुन्छ। वर्ग रहेसम्म वर्गसङ्घर्ष रहन्छ । विचार पनि सङ्घर्षसँगै विकसित हुँदै जान्छ । हामीले मार्क्सवादलाई पनि गतिशील रुपमा बुझ्नुपर्छ ।’

‘कम्युनिष्ट आन्दोलनमा २ खाले अतिवाद छन् । विचारको शुद्धताको नाममा, सिद्धान्तको शुद्दताका नाममा मार्क्सवादलाई धर्मशास्त्रजस्तै बुझ्ने समस्या कम्युनिष्ट आन्दोलनमा छ’ सभालाई सम्बोधन गर्दै अध्यक्षले भन्नुभयो, ‘मार्क्सले, लेनिनले, माओले, होचि मिन्हले, फिडेल क्यास्ट्रोले जे–जे भने, जे–जे लेखे, त्यही मात्र मार्क्सवाद हो, अरु होइन भन्ने अतिवाद पनि कम्युनिष्ट आन्दोलनमा छ ।’

‘जनताको आवश्यकता, देशको आवश्यकता, हजारौं कार्यकर्ताको भावना र आकाङ्क्षा नबुझ्नेहरु मार्क्सवादी र द्धन्द्धवादी हुन सक्दैनन् । विचारको शुद्धताका नाममा गति नबुभ्mनेहरु अन्तिममा अलगावमा पर्छन्। उनीहरु फुटको शिकार बन्दै जान्छन्, पार्टीमा नेता–कार्यकर्ताले छोड्दै जान्छन् ।’

‘कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी जडता पनि छ, त्यसले मार्क्सवादलाई आफ्नो स्वार्थमा मात्र हेर्छ । दक्षिणपन्थी जडताले कम्युनिष्ट आन्दोलनलाई बुर्जुवाकरण गर्छ, वर्गको हित र वर्गसङ्घर्षलाई भुल्दछ । अन्तिममा वर्गसमन्वयको शिकार हुन्छ । युवाहरुले यी दुवै अतिवादका विरुद्ध सङ्घर्ष गरेर मार्क्सवादको सिर्जनात्मक प्रयोग र विकास गर्न सक्नुपर्छ । मार्क्स–एंगेल्सले सन् १८४८ मा कम्युनिष्ट घोषणापत्र लेख्नुभयो। त्यसपछि कम्युनिष्ट युथ इन्टरनेशनल बन्यो । कम्युनिष्ट भनेको भविष्यको संगठन हो । साम्यवाद भविष्यको सुन्दर यात्रा हो । त्यसैले मार्क्स–एंगेल्सदेखि सबैजसो कम्युनिष्ट आन्दोलनले युवाहरुको भूमिकालाई महत्वपूर्ण ठानेका छन्। युवाहरुकै बलमा वर्गसङ्घर्ष र राजनीतिक परिवर्तन सफल भएका छन् ।’

सभामा अध्यक्ष प्रचण्डले आफू २६ वर्षको उमेरमा युवक सङ्घको अध्यक्ष भएको पनि स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, ‘तपाईहरुको यो उत्साह देख्दा मैले २०३८ सालको स्मरण गरिरहेको छु । २०३८ साल माघ १७ गते अखिल नेपाल युवक सङ्घको भेला थियो । त्यहाँ युवाहरुको ठूलो उत्साह थियो । देशमा युगान्तकारी परिवर्तन गर्ने सङ्कल्प थियो। म त्यतिबेला २६ वर्षको थिएँ, त्यही भेलाबाट अखिल नेपाल युवक सङ्घको अध्यक्षमा निर्वाचित भएँ । र, देशमा राजनीतिक आन्दोलनको नेतृत्व गर्ने अवसर पनि मिल्यो।’

अध्यक्षले युवाहरुमा अध्ययनप्रति घट्दो रुचिप्रति चिन्ता व्यक्त गर्नुभया े। उहाँले भन्नुभयो, ‘त्यतिबेला हामीमा निकै ठूलो उत्साह हुन्थ्यो । हामी वैचारिक, राजनीतिक अध्ययनप्रति निकै रुचि राख्थ्यौं । विचार निर्माणमा, संगठन निर्माणमा अध्ययनको निकै ठूलो भूमिका हुन्छ । तर, आजभोलि युवाहरुमा अध्ययनप्रति रुचि घटेको देख्दा चिन्ता लाग्छ । अध्ययन गर्न, मेहेनत गर्न किन रुचि घट्दैछ ? अध्ययनको संस्कृति कता हरायो ? यतातिर युवाहरुले सोच्नुपर्छ ।’

‘तर, आजको तपाईहरुको उत्साह देख्दा खुसी लागेको छ’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘तपाईहरुको यो उर्जा समृद्धिका निम्ति, समाजवादका निम्ति खर्च हुनेछ । पार्टी एकता ऐतिहासिक थियो । वर्गसङ्घर्ष र वैचारिक राजनीतिक पृष्ठभूमिबिना यो एकता सम्भव थिएन। सबैको सङ्घर्ष र पहलबिना यो एकता सम्भव थिएन । यसका लागि म युवा साथीहरुलाई पनि धन्यवाद दिन चाहन्छु ।’



प्रतिक्रिया दिनुहोस्