काठमाडौं, ४ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली ५ वर्षकै लागि प्रधानमन्त्री हुने दाबी गरेका छन् ।
नेता नेपालले ओली ५ वर्षको लागि प्रधानमन्त्री निर्वाचित भएकोले पूरा कार्यकाल खाने खुलासा गरेका छन् । ओलीले अढाई वर्ष र अर्का अध्यक्ष पुष्पकमल दाहालले अढाई वर्ष सरकारको नेतृत्व गर्ने बाहिर चल्ला चलेकै बेला नेता नेपालले यसमा कुनै सत्यता नभएको भन्दै भ्रमबाट मुक्त हुन आग्रह गरे ।शुक्रबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेता नेपालले यस्तो बताएका हुन् ।
नेता नेपालले स्वर्गीय जननेता मदन भण्डारी प्रतिभाशाली र राजनेता भएको संज्ञा दिए । उनले भने,”उहाँले नेपालको कम्युनिष्ट आन्दोलनलाई नयाँ मोड दिनुभयो । विश्व कम्युनिष्ट आन्दोलन निकै ठूलो संकटमा परेको बेलामा नेपालको कम्युनिष्ट आन्दोलनलाई यो संकटबाट जोगाउनको लागि उहाँले माक्र्सवाद लेनिनवादलाई नेपाली माटोमा सिर्जनात्मक रुपमा, रचनात्मक रुपमा प्रयोग गर्नुभयो । र, विकास गर्नुभयो । र, जनताको बहुदलीय जनवादको नयाँ वैचारिक दिशा हामीलाई प्रदान गर्नुभयो ।”
स्वर्गी भण्डारी प्रखर वक्तासमेत रहेको नेपालले सुनाए । उनले भने,”उहाँ दुरदर्शी नेतापनि हुनुहुन्थ्यो । जनताको बीचमा अत्यन्तै लोकप्रिय नेतापनि हुनुहुन्थ्यो । यस्तो व्यक्तिको रुपमा मदन भण्डारीलाई हामीले सम्झिन्छौं ।”
फरक प्रसँगमा नेता नेपालले पार्टीभित्र आफूले राम्रा कुराको लागि सबैसँग सम्झौता गर्ने गरेको तर गलत कुराको लागि कसैसँग सम्झौता नगरेको र आगामी दिनमा पनि नगर्ने घोषणा गरे । उनले भने,”यति बुझे हुन्छ, म गलत कुरा र कामको निम्ति लड्छु ।” उनले पार्टीभित्रको आन्तरिक द्धन्द्ध व्यवस्थापन गर्ने क्रममा नै आफूहरु अघि बढिरहेको पनि स्पष्ट पारे । उनले भने,”हामी आन्तरिक व्यवस्थापन गर्न सक्छौं ।”
उनले बालुवाटार जग्ग प्रकरणका दोषीलाई सरकारले तत्काल कारबाही गर्नुपर्ने माग गरे । आफूले यसबारेमा प्रधानमन्त्री ओलीलाई भनिसकेको पनि नेता नेपालले जनाए । उनले अघि थपे,”तर, त्यहाँ मेरो बदनियतको कुरा उठ्छ भने प्रत्येक कुरा म उठाउँछु ।” ललिता निवास आफूलै नै विस्तार गरेको उनको दाबी छ ।