Logo

कांग्रेस जागरण अभियानको आलोचना बढ्दै, कार्यकर्ता निराश



वैशाख ६, काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस यतिबेला देशव्यापी रुपमा जनजागरण अभियानमा छन । गत बैशाख २५ गतेबाट सुरु भएको पहिलो चरणको कार्यक्रम नसकिदै विभिन्न जागरण अभियानबारे विभिन्न टिकाटिप्पणी सुरु भएको छ । जागरण अभियानका क्रममा जिल्ला तथा गाउंहरुबाट सवैभन्दा पहिला नेतृत्वमै जागरण ल्याउनुपर्ने भन्दै कडा आलोचना भएको छ ।

गत बैशाख २५ गतेबाट देशभरका ७७ वटै जिल्लामा एक साथ कार्यक्रम गर्दै सुरु भएको कांग्रेस जागरण अभियान जारी छ । जागरण अभियान सुरु भएको २ साता वित्न लाग्दा अधिकांश जिल्लाहरुबाट नेतृत्वलाई नै बढी सच्चिनु पर्ने सुझाव बढी आएका छन । आफुहरु पार्टीप्रति सधै प्रतिबद्ध र एकजुट भएपनि नेतृत्व तहबाटै गुटउपगुटको राजनिति गरेकै कारण कांग्रेस कमजोर भएको भन्दै नेतृत्वलाई पहिला सच्चिन आग्रह तथा सुझाव आएको कांग्रेस नेता अर्जुनरसिंह केसीको भनाई छ ।

जनजागरण अभियान बारे पार्टी भित्र तथा बाहिर विभिन्न नकरात्मक टिकाटिप्पणी पनि सुरु नभएको होइन । पछिल्लो समय जागरण अभियानका लागि जिल्लापुगेका अधिकांस केन्द्रिय नेताहरु १ महिना जिल्लामै रहनुपर्ने भएपनि विभिन्न कारण देखाउदै नेताहरु राजधानी फर्किएको भन्दै नेताहरुको चर्को आलोचना समेत भएको छ ।

उही गुटउपगुटकै राजनिति वरीपरी अभियान चलेको र पार्टी सभापति तथा शिर्ष नेताहरुबाटै कांग्रेसभित्रकै नेताहरुले कांग्रेस सिध्याउन लागी परेको र बोलचालको समेत स्थिती नभएको भन्दै प्रतिक्रिया दिन थालेका छन । तर अहिलेको यो अभियान र समय नेपाली कांग्रेसको लागि आफुलाई बलियो र सुधार गर्न उपयुक्त समय भएकोले यो अभियानबाट कांग्रेस सुध्रिएर आउनुको विकल्प नभएको नेताहरु बताउछन ।

कांग्रेसको जागरण अभियान नीति नभएको र नेतृत्व समेत योग्य नभएको भन्दै विश्लेषकहश्रले अभियानकै प्रभावकारितामाथि प्रश्न चिन्ह समेत उठाउने गरेका छन। जिल्ला सभापतिहरु, महाधिवेशन प्रतिनिधिहरुको असन्तुष्टि, भातृसंगठनहरुको नेतृत्व विवाद, लगाएतका विषय सम्बोधन नगरी सञ्चालन गरिएको अभियानले राष्ट्रिय राजनीतिमात्रै होइन, पार्टीकै आन्तरिक जिवनमा समेत खासै महत्व नराख्ने विश्लेषकहरुको तर्क छ ।

सांच्चिकै कांग्रेसभित्रै तथा बाहिर विभिन्न टिकाटिप्पणी भए जस्तै कांग्रेसले जागरण अभियान केका लागि ?के सांच्चै यो जागरण अभियानबाट सुध्रिएर आउछ त ? भन्ने प्रश्न उब्जिएको छ । प्रथम चरणको कार्यक्रम आगामी जेठ २५ गते समापन हुनेछ । दोस्रो चरण भदौ २४ गते बिपी जयन्तीका दिन प्रारम्भ भई असोज ७ गते समापन हुनेछ । यसैगरी तेस्रो चरण पुस ७ गते प्रारम्भ भई पुस १६ गते ९राष्ट्रिय मेलमिलाप दिवसमा समापन हुने कार्यतालिका छ ।



प्रतिक्रिया दिनुहोस्