नयाँ दिल्ली, १० जेष्ठ । भारतीय रेल विकासमन्त्री पियुष गोयल नेपाल-भारत द्धिपक्षीय सम्बन्ध मजबुद हुने र भारतको लोकसभा निर्वाचनमा भाजपाको जीतले अझै सम्बन्ध सुमधुर हुने विश्वास दिलाएका छन् ।
नयाँ दिल्लीमा पत्रकार ऋषि धमलासँगको कुराकानीमा गोयलले यस्तो बताएका हुन् । उनले भने,‘यो जीत भारतकोमात्रै जीत होईन, नेपालको पनि जीत हो । नेपाल भारत सम्बन्ध सुमधुर हुन्छ ।’
त्यस्तै, भारतीय स्वास्थ्यमन्त्री जेपी नाड्डाले पनि नेपाल र भारतबीचको द्धिपक्षीय सम्बन्ध सँधै सुमधुर हुने बताएका छन् । मध्य प्रदेशका पूर्व मुख्यमन्त्री एवम् भारतीय जनता पार्टीका बरिष्ठ नेता शिवनारायण सिंह चौहानले नेपालको राजनीतिक प्रणालीलाई समर्थन गर्ने बताए । उनले भने,“नेपालको गणतन्त्रान्त्रिक व्यवस्थामा हाम्रो कुनै हस्तक्षेप हुँदैन् ।”
भाजपाका प्रवक्ता गोपालकृष्ण अग्रवालले पनि भारतीय लोकसभाको निर्वाचनमा भाजपाको जितलाई नेपालको पनि जीत भएको संज्ञा दिए । उनले नेपाल र भारतबीच सदियौंदेखि घनिष्ठ सम्बन्ध रहेकोले आगामी दिनमा पनि झनै प्रगाढ सम्बन्ध हुने विश्वास दिलाए ।