काठमाडौं, १२ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी शर्मा ओली नेतृत्वको कम्युनिष्ट सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसकेको आरोप लगाएका छन् ।
शनिबार दार्चुलाको खुलामन्चमा तेस्रो जिल्ला अधिवेशन तथा जागरण अभियानलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले अहिलेको सरकार गणतन्त्रलाई संस्थागत गर्नेभन्दा पनि मास्ने कार्यमा लागेको र यो सरकार ‘बाँदरको हातमा नरिवल’ भएको बताएका हुन् ।
उनले भने, “सरकार आफै घोर भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ । लोकतन्त्रका मूल्यमान्यतालाई तिताञ्जली दिदै पक्षपाती र मनोमानी ढंगको शासन चलाइरहेको छ । बहुमतको सरकारले जनताको चाहनाअनुसार काम गर्न सकेन ।”
पौडेलले जनताले वर्तमान सरकारको विकल्प खोज्न थालिसकेको बताएका छन् । कार्यक्रममा बोल्दै नेता पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले एकपछि अर्को गर्दै लोकतन्त्र उल्टाउने खालको कदम चालेको दाबी गरे ।