Logo

गृहमन्त्रीको अभिव्यक्ति विवादमा मुछियो



काठमाडौं, १३ जेठ । प्रतिनिधिसभाको सोमबारको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को अभिव्यक्ति विवादमा मुछिएको छ । प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले राजधानीको बम विस्फोटमा मृत्यु भएका नागरिक सामान्य नागरिक नभएको भन्ने गृहमन्त्री थापाको भनाईप्रति आपत्ति जनाएका छन् ।

मुलुकको शान्ति सुरक्षा लगायत पछिल्ला घटनाबारे जानकारी गराउने क्रममा गृहमन्त्री थापाले बम विस्फोटमा मारिनेहरु सामान्य नागरिक नभएको अभिव्यक्रि दिएको भन्दै कांग्रेसका सांसदहरुले त्यसप्रति आपत्ति जनाएका हुन् । उनीहरुले घटनामा मारिने ‘कुन देशका नागरिक हुन्’ भनि गृहमन्त्रीलाई प्रतिप्रश्न गरे ।

सांसद पुष्पा भुसालले शान्ति सुरक्षाको प्रत्याभूति गर्न नसक्ने सरकारले हठ नत्याग्ने र विप्लवले पनि आफ्नो हिंसा नत्याग्ने हो भने त्यसको पीडा सर्वसाधरणले कहिले सम्म भोग्नुपर्ने भनी प्रश्न गरिन् ।

उनले सोधिन्,“गृहमन्त्रीले राजधानीमा भएको विष्फोटमा परि मृत्यु भएका ४ जना नेपाली जनता होइनन्, नेपाली नागरिक होइनन् भन्नुभयो । उनीहरु नागरिक होइनन् भने को हुन् ?”

 

सांसद लक्ष्मी परियारले मृत्यु भएकाहरु नेपाली होइनन् भने को हुन् ? भनी प्रश्न गरिन् । त्यस्तै, सांसद पार्वति डिसी चौधरीले पनि बम विष्फोटमा परि मृत्यु हुने नेपाली नभए को हुन् भनी प्रश्न गरिन् ।

 

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्