काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षदेखि सातै प्रदेशमा विद्युतीय बस सञ्चालन गर्ने भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/७७ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक यातायातलाई व्यवस्थित गर्नका लागि विद्युतीय बस सञ्चालन गरिने बताए ।
सबै प्रदेशका राजधानीमा विद्युतीय बस सञ्चालनका लागि नेपाल विद्युत् प्राधिकरणसँग ‘चार्ज स्टेसन’ राख्ने विषयमा छलफल भइरहेको मन्त्री खतिवडाले बजेट वक्तव्यमार्फत जानकारी दिए। यात्रुले सार्वजनिक यातायातका साधन प्रयोग गर्दा शुल्क तिर्न विद्युत्तीय कार्डको व्यवस्था गरिनेछ ।
तोकिएको समयमा यात्रा शुरु गरी तोकिएकै समयमा गन्तव्यमा पुग्ने सुनिश्चित गरिनेछ बजेट उल्लेख छ । सार्वजनिक यातायात व्यवस्थापनका लागि जिपिएस प्रविधिको प्रयोग गरी सार्वजनिक सवारी साधनको अनलाइन स्थिति अनुगमन गरिनेछ ।
सार्वजनिक सवारी साधनको प्रभावकारी व्यवस्थापन गर्न मुलुकका प्रमुख शहरमा सार्वजनिक निजी साझेदारीमा बसपार्क र पार्किङस्थल निर्माण अगाडि बढाइनेछ ।
यस्तै सरकारले काठमाडौँ उपत्यका र सातै प्रदेशका प्रमुख शहर र आसपासका क्षेत्रमा नेपाल सरकार, प्रदेश र स्थानीय तह एवं निजी क्षेत्रसमेतको सहभागितामा विद्युतीय बस सेवा सञ्चालनमा ल्याइने बजेटमा उल्लेख छ । सरकारले आगामी आवमा यातायात व्यवस्थापन शीर्षकमा रु एक अर्ब ५३ करोड विनियोजन गरेको छ ।
तस्विर : मुकुन्द कालिकोट/रिपोर्टर्स नेपाल डटकम