Logo

भारी वर्षाले ‛स्मार्ट सिटी’ को बिजोग



काठमाडौं, १६ जेठ । स्थानीय निकायको निर्वाचनमा मत माग्दा देशभरका अधिकांश महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाका मेयरका प्रत्याशीहरुले ‘स्मार्ट सिटी’ बनाउने सपना देखाएका थिए । पूर्वाधार निर्माणमा धेरै जटिलता र शहरको व्यवस्थापनमा चुनौती जान्दा जान्दै मत माग्नकै लागि भएपनि स्मार्ट सिटीको गफ हाँके । तर, बुधबार काठमाडौं उपत्यकामा भारी वर्षा हुँदा शहरको बिजोग भयो ।

काठमाडौं, ललितपुर र भक्तपुर तीनवटै जिल्लाका सडकहरु जलमग्न थिए । पुतलीसडक, बागबजार जस्ता प्रमुख सडकमात्र नभई भित्री सडकहरु खोलाजस्तै भएका थिए । ललितपुरको कुमारीपाटी क्षेत्र जलमग्न थियो । सडकमा पानी जमेकाले घण्टौंको जाम भयो । कार्यालय समय सकिएपछि घर जान निस्किएकाहरु राति ९ बजेभन्दा पछि मात्र घर पुग्न सकेका थिए ।

भारी वर्षापछिको सडक जलमग्न हुँदा भएको जामका कारण लुभु घर भएका राजेश बिष्ट राति ९ बजेपछि मात्र घर पुग्न सकेको बताउँछन् । उनले भने, ‛अफिसबाट पाँच बजे निस्केको थिएँ, जाममा जानुभन्दा कतै बसौं भनेर दुई घन्टा चीयापसलमा बसेको नखुल्ने जस्तो लागेर निस्किएको थिएँ अर्को दुई घन्टा जाममा परेँ ।

लगनखेलबाट प्रयागपोखरी जाने बाटोमा सडक पानीले भरिएपछि पैदलयात्री जनप्रतिनिधिलाई गाली गरिरहेका थिए । ग्वार्कोमा बस्नै आएकी माया महर्जनले भनिन्, ‛खुब बनाउँछु भनेका थिए, यही हो बनाएको ?’

पानीको निकास राम्रो नहुँदा उपत्यकाका अधिकांश सडकहरु भारी वर्षाका बखत जलमग्न हुने गरेका छन् । त्यसमाथि सडक, खानेपानी र ढल निर्माणको जिम्मेवारी लिएका निकायहरुको समन्वय नहुँदा समस्या समाधानको साटो बल्झने गरेको छ ।

स्मार्ट सिटिको नीति अनुसार उपत्यकाका शहरहरुमा काम हुन सकिरहेको छैन । स्मार्ट सिटीको गफ दिएर चुनाव जितेका जनप्रतिनिधिहरुले स्मार्ट सिटीको अर्थ र यसमा हुनुपर्ने गुणहरु नै बुझिरहेका छैनन् ।

के हो स्मार्ट सिटी ?

शहरी विकास अन्र्तगत आधुनिक सूचना र प्रविधिको अधिकतम् प्रयोगबाट स्रोत र सम्पत्तिको प्रभावकारी व्यवस्थापन गर्ने शहरलाई स्मार्ट सिटी भनिन्छ । प्रविधिका माध्यमले पद्धति विकास गरी ट्राफिक प्रणाली, ऊर्जा प्लान्ट, पानीको आपूर्ति, फोहोरमैला व्यवस्थापन गरिन्छ । यी सबैको अनुगमन आधुनिक प्रविधिबाट गरिएको हुन्छ ।

स्मार्ट सिटीमा सार्वजनिक स्थान र हितका विषयमा भइरहेका गतिविधिहरुको निरन्तर निगरानी हुन्छ । दीगो तरिकाले शहरमा सेवा प्रदान गर्ने क्रममा खर्च जतिसक्दो घटाउने उद्देश्य राखिएको हुन्छ । स्मार्ट व्यवस्थापन स्मार्ट, जीवनशैली स्मार्ट, गतिशिलता स्मार्ट र बसोबास स्मार्ट हुन्छ ।
नवीन प्रविधिसँग समन्जस्यता कायम गरी भविष्यका लागि आर्थिक, सामाजिक र पर्यावरणीय चुनौतीको सामना गर्ने पूर्वतयारी हुन्छ । कसरी वातावरणको ख्याल गरेर सबैको सहभागितामा सुन्दर जीवनयापनको अवस्था सृजना गर्न सकिनेतर्फ ध्यान दिइएको हुन्छ ।

स्मार्ट सिटीको अवधारणा अनुसार चलेका सँसारका सुन्दर शहरहरुमा सिंगापुर, बार्सिलोना, सान फ्रान्सिस्कोलगायत छन् । ती शहरहरुले दीगो विकास र वातावरण संरक्षणमा ध्यान दिदै सफल योजनाहरु सफल बनाउँदै आएका छन् ।

सम्भव छ स्मार्ट सिटी

नेपालमा स्मार्ट सिटीको गफ हाँकिएपनि त्यसतर्फ काम भइरहेको छैन । पूर्वाधार विकासलाई सबथोक ठान्दा वातावरण विनाश भइरहेको छ । विकासका नाममा विनाश गरेर शहरहरु बदनाम छन् ।

शहरको व्यवस्थापन हुन सकेको छैन । काठमाडौं उपत्यकामा अझैसम्म शुद्ध खानेपानीको व्यवस्थापन हुन सकेको छैन । ट्राफिक व्यवस्थापन कमजोर छ । जामले जीवनशैली कष्टकर छ । सडकमा धुलो र हिलोमध्ये एउटा अवस्था दैनिकी बनेको छ ।

यस्तो अवस्थामा स्मार्ट सिटी कठिन छ । तैपनि, जहाँ इच्छा त्यहाँ उपाय हुन्छ । शहरका नीतिनिर्माणकर्ता र जनप्रतिनिधि जिम्मेवार हुने हो भने केही वर्षमै मुहार फेरिन्छ । खानेपानीको आपूर्ति, वातावरणको संरक्षण र सडक यातायातको व्यवस्थापन गर्न सकिन्छ । यसका लागि नगरप्रमुख मात्र नभई नगरका जनताको पनि उत्तिकै जिम्मेवार भूमिका रहन जान्छ । स्मार्ट सिटि गफले होइन कामले मात्र सम्भव छ ।



प्रतिक्रिया दिनुहोस्