Logo

प्रधानमन्त्री ओलीको ‛पीएचडी’ मोह



काठमाडौं, १६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक पढाई एसएलसीभन्दा मुनी नै हो । गरिबी र अभावमा हुर्किएका उनको बाल्यकाल पीडाले भरिएकाले औपचारिक पढाई अगाडि बढाउन सकेनन् ।

१४ वर्ष जेल बसेका ओलीले पढेर भन्दा परेर जाने । स्वअध्ययन गरेकाले ओली तर्कक्षमतामा अब्बल मानिन्छन् । तैपनि, उनमा पिएचडीको मोह बढ्दै छ । गएको तीन वर्षमा लगातार तीनवटा विश्वविद्यालयहरुबाट मानार्थ विद्यावारिधीको सम्मान थापिसकेका छन् ।

प्राज्ञिक थलोप्रति आकर्षण

ओली विगतमा विदेश जाँदा समेत कुनै न कुनै विश्वविद्यालयमा पुग्थे । प्रवचनमा सहभागी भई पीएचडी शोधकर्ताहरुसँग अन्र्तक्रियामा सहभागी हुन्थे । उनी भारत जाँदा सबैभन्दा बढी पुग्ने जवाहरलाल नेहरु विश्वविद्यालय हो । त्यहाँको दक्षिण एशिया अध्ययन केन्द्रमा पीएचडी शोधकर्तासँग अन्र्तक्रिया गर्थे ।

अंग्रेजी तिख्खर बोल्ने ओली पढेलेखेकाहरुसँग समय बिताउन चाहने नेतामा गनिन्छन् । बौद्धिक व्यक्तिहरुको आलोचनाप्रति बेला बखत व्यङ्ग्य गर्ने उनी आफैलाई बौद्धिक मान्छन् भन्ने पीएचडी मोहले पनि देखाउँछ ।

आँचा चिम्लेर उपाधि

ओली आफूले औपचारिक अध्ययन गर्न नपाएकोमा पीडाबोध गर्न छाडेका छैनन् भन्ने मानार्थ विद्यावारिधीको मोहमा परेका छन् । जसले मानार्थ विद्यावारिधी दिन्छ थापिहाल्ने स्वभाव ओलीमा देखिएको छ । विश्वविद्यालयको स्तर र उद्देश्य नबुझी ओलीले सम्मान थापिदिंदा पदको मर्यादा नराखेको भन्दै आलोचना हुनेगरेको छ ।

ओलीले हालैमात्र दक्षिण कोरियाको काङनाम विश्वविद्यालयबाट मानार्थ विद्यावारिधीको सम्मान लिए । काठमाडौंमा विश्वविद्यालयका प्रतिनिधि आएर गाउन लगाइदिंदा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक तीर्थ खनियाँ समेत सहभागी थिए । उक्त विश्वविद्यालय धार्मिक उद्देश्यबाट प्रेरित रहेको छ । क्रिश्चियन धर्मको प्रचार प्रसारमा विश्वविद्यालय लागेको भेटियो ।

ओलीले २०६७ मा अमेरिकाको ग्रिनफोर्ड युनिभर्सिटीबाट मानार्थ विद्यावारिधी लिएका थिए । उक्त विश्वविद्यालय विवादास्पद रहेको भेटियो । उक्त विश्वविद्यालय अस्तित्वमा नभएको पत्ता लागेपनि ओलीले विश्वविद्यालयको बचाऊ गर्दै मानार्थ विद्यावारिधी लिनुलाई गर्व ठाने । उनीसँगै मानार्थ पीएचडी लिने मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र क्याप्टेन रामेश्वर थापाले फिर्ता गरिहाले ।

दोस्रोपटक प्रधानमन्त्री भएर भारत भ्रमणमा जाँदा ओलीलाई खाली हात पठाइएन । उनको मानार्थ पीएचडीको मोह बुझेर भारत सरकारले बन्दोबस्त गरिदियो । उत्तराखण्डस्थित गोविन्द बल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयबाट मानार्थ पीएचडीबाट ओली सम्मानित भए ।

संयुक्तराष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका गएको बखत ओलीलाई खुशी बनाउन अमेरिकास्थित नेपाली राजदूत डा. अर्जुन कार्की लागिपरे । उनकै पहलमा ओलीलाई कोस्टारिकाको युनिभर्सिटी फर पिसबाट मानार्थ विद्यावारिधीबाट विभुषित गर्ने बस्दोबस्त गरियो । ओलीलाई गाउन लगाएर सम्मान दिने कार्यक्रममा कार्की समेत पुगेका थिए ।

सरकारी खर्चमा कोस्टारिका पुग्नुमा ओलीको विद्यावारिधीको गाउन र टोपी लगाउने मुख्य उद्देश्य थियो । ओलीलाई खुशी पार्ने तरिका अहिले पीएचडीको मानार्थ उपाधि समेत भएको छ । ओलीबाट काम लिन खोज्नेहरुले उनलाई खुशी पार्न यो उपाय अपनाउन थालेका छन् । उनलाई अझै धेरै मानार्थ पीएचडीको उपाधि दिलाउन बालुवाटारमा केही व्यक्तिहरु सलबलाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओललाई मानार्थ पीएचडी दिनेको विवरण

वर्ष देश विश्वविद्यालय

२०७६ दक्षिण कोरिया काङनाम विश्वविद्यालय
२०७५ कोस्टारिका युनिभर्सिटी फर पिस
२०७४ भारत गोविन्द बल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालय
२०६७ अमेरिका ग्रिनफोर्ड युनिभर्सिटी



प्रतिक्रिया दिनुहोस्

Screenshot