Logo

जब जयशकरले ओलीको सामुन्ने सपथ लिए….



नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले धेरैलाई चकित पार्दै पूर्व विदेश सचिव सुव्रमण्यम जयशंकरलाई मन्त्री बनाएका छन् । क्याबिनेट मन्त्री स्तरमा उनले सपथ लिइरहँदा प्रधानमन्त्री केपी शर्मा ओली दिल्लीको सपथ समारोहमा विशिष्ट अतिथिका रुपमा बसेका थिए । जयंशकरको सपथले ओली आफै चकित भए ।

नेपालमा संविधान जारी हुनलाग्दा जयंशकर विदेश सचिव थिए । उनले नेपाल आएर संविधान जारी गर्नुअघि भारतीय पक्षको चासो उल्लेख गरेपछि राजनीतिक तरंग आएको थियो । तत्कालिन नेकपा एमालेका अध्यक्ष रहेको ओली जयशंकरसँग कडा रुपमा प्रस्तुत भएको विषय सार्वजनिक भएको थियो ।

जयशंकरले मन्त्रीको सपथ लिंदा सुष्मा स्वराज अतिथिका रुपमा मात्र सहभागी भइन् यसबाट भारतको विदेश मन्त्रालयको जिम्मेवारी जयंशकरले पाउने निश्चितप्रायः भएको छ । जयशंकरको मोदी सरकारमा सहभागिताले ओलीलाई छक्क मात्र नभई चिन्तित समेत बनाएको बुझिएको छ ।

को हुन् जयंशकर

दिल्लीमा जन्मिएका ६४ वर्षीय जयशंकरका पिता के. सुव्रमण्यम रणनीतिक मामलाका जानकार थिए । जवाहरलाल नेहरु विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधी गरेका उनले आणविक कुटनीतिबारे शोध तयार गरेका थिए । आणविक कुटनीतिका ज्ञाता भएकाले पनि मोदीले रुचाए ।

जयशंकर तीन दशकभन्दा लामो समय भारतको विदेश सेवामा बिताएका अनुभवी कुटनीतिज्ञ हुन् । मोदी जयशंकरको क्षमताबाट यति धेरै प्रभावित भए कि उनलाई उचित स्थान दिदै गए । विदेश सचिव बनाउँदा कर्मचारीतन्त्रको परम्परागत पद्धतिलाई समेत बेवास्ता गरेका थिए । विदेश मन्त्रालयका आफूभन्दा वरिष्ठ कर्मचारीहरुलाई उछिन्दै जयशंकरले विदेश सचिव बनेर बाजी मारेका थिए ।

चीनको समेत राजदूत बनिसकेका जयशंकरले मोदीको चीनसँगको सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए । पश्चिमा राष्ट्रहरुले मोदीलाई उनीहरुको देशमा भ्रमण समेत गर्न नसक्ने गरी भ्रमण रोक लगाउँदा गुजरातका मुख्यमन्त्रीका रुपमा मोदीले चीनको भ्रमण गरेका थिए । यसमा जयशंकरले वातावरण तयार गरिदिएका थिए ।

अमेरिकाका लागि जयशंकर राजदूत हुँदा मोदीलाई लाभ हुने वातावरण तयार गरिदिएका थिए । अमेरिकाले मोदीलाई भीसा रोक लगाएकोमा जयशंकर अमेरिकाका लागि भारतीय राजदूत हुँदा एक दशक लामो रोकावट फुक्यो । अमेरिकासँग मोदीको सुमधुर सम्बन्ध स्थापित बनाउन जयशंकरले भूमिका खेले ।

जयशंकरले भारतको चीनसँग सन् २०१७ मा दोक्लाममा भएको विवाद समाधानमा मुख्य भूमिका निभाए । चीनमा राजदूत भई काम गरिसकेकाले जयशंकरले कुटनीतिक क्षमता देखाएर समस्या समाधानम भूमिका खेलेका थिए ।

जयशंकरको कुटनीतिक चार्तुयताका कारण मोदी उनीबाट निकै प्रभावित भए । त्यसैले, भारतीय जनता पार्टीमा एक से एक कुटनीतिक क्षमता प्रदर्शन गर्ने नेता कार्यकर्ता हुँदाहुँदै एस. जयशंकरलाई मन्त्री बनाए ।

नेपालमा आशंका

एसं जयशंकर विदेश सचिव हुँदा नेपालसँगको सम्बन्ध सहज भएन । विशेषगरी नाकाबन्दीका बखत जयशंकर विदेश सचिव हुनु र उनी संविधान जारी हुँदा यहाँका नेताहरुलाई भेटेर फर्किएपछि नाकाबन्दी हुनुले आशंकाहरु रहने ठाउँ बन्यो ।

नेपालमा संविधान जारी हुनलाग्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विशेष दूतका रुपमा विदेशमन्त्री सुव्रमण्यम जयशंकरलाई काठमाडौं पठायो । उनले काठमाडौं आएलगत्तै तत्कालिन राष्ट्रपति डा. रामवरण यादव, तत्कालिन प्रधानमन्त्री सुशील कोइराला, तत्कालिन एनेकपा माओवादी अध्यक्ष प्रचण्डका अलावा हालका प्रधानमन्त्री तथा तत्कालिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए । ओलीसँगको भेट सामान्य नभएको विषय बाहिर आएको थियो ।

अहिले जयशंकर मोदी सरकारमा क्याबिनेटमन्त्री बनेका छन् । उनले महत्वपूर्ण मन्त्रालय पाउने निश्चित प्रायः छ । जयशंकरलाई विदेश सचिव बनाउन सरकारमा सामेल गराइएको विषय उठिरहेको छ । ओली प्रधानमन्त्री हुँदा जयशंकर भारतको मन्त्री बन्नुले नेपालसँगको सम्बन्ध कसरी अगाडि बढ्छ भन्ने आशंका उठेको छ ।

भारतीय पक्षले विगतको इतिहास बिर्सेर नेपाल भारत सम्बन्धलाई भविष्य सुन्दर बनाउने गरी अगाडि बढ्नुपर्ने नीति सार्वजनिक गरिसकेको छ । भारतीय विदेशसचिव विजय गोख्लेले अब पुराना कुरा नगरी नयाँ तरिकाले बढ्नुपर्नेमा जोड दिइसकेका छन् । तैपनि, मोदी सरकारमा जयशंकरको प्रवेशले नेपालको राजनीतिमा कुनै तरंग आउनसक्ने सम्भावनाहरु औल्याउन थालिएको छ ।



प्रतिक्रिया दिनुहोस्