Logo

उर्वसीको सम्भोग प्रस्ताव अर्जुनले नकार्दा



काठमाडौं, १७ जेठ । मध्यरात थियो । अर्जुन सुतिरहेका थिए । स्वर्गकी अप्सरा उर्वसी अर्जुनको कोठामा प्रवेश गरिन् । कामुक उर्वसी मध्यरातमा एक्लै कोठामा आउँदा समेत अर्जुनलाई कुनै असर गरेन ।

उर्वसी देख्दा देवता देखि दानवसम्म मन्त्रमुग्ध हुन्थे । कामवासना जाग्थ्यो । तर, अर्जुनले आफूप्रति कुनै आशक्ति नदेखाएपछि उर्वसी स्वयं सक्रिय बनाउन लागिपरिन् । तर, अर्जुन मानेनन् ।

अर्जुनको व्यवहार देखेर सम्झाउँदै भनिन्,‘यो स्वर्ग लोक हो मृत्युलोक होइन । मत्र्यलोकमा जस्तो कसैले खराब वा राम्रो गरेकोको कुनै अर्थ रहँदैन ।’ अर्जुनलाई आफूसँग सम्भोगका लागि बढ्न भनिन् ।

जवाफमा अर्जुनले भने,‘तपाईं त मेरो आमा समान हुनुहुन्छ । म त्यस्तो सोच्न समेत सक्दिनँ ।’ उर्वसी कुनै बेला पुरु वंशको बुहारी भइसकेको र इन्द्रको समेत भएकीले आमा साइनो पर्ने बताए ।

दुनियाँ आफ्नो प्रेममा पाग हुने तर आफू अर्जुनसँग मोहित हुँदा समेत जवाफ सोचेभन्दा फरक आएपछि उर्वसी आक्रोशित भइन् । मनुष्यबाट अपमानित भएको ठानेर तुरुन्त श्राप दिइन्, ‘जसका लागि देवताहरु मरिहत्ते गर्छन् उसको प्रस्ताव नकार्ने तिमी नपुंसक बन्नुपरोस् ।’ व्यर्थमा श्राप परेपछि अर्जुन श्रापबाट मुक्त गरिदिन विन्ति गर्न थाले ।

इन्द्रले घटनाबारे जानकारी पाएपछि तुरुन्त उर्वसीलाई भेटे । निर्दोष अर्जुनबाट श्राप फिर्ता लिन भने । उर्वसीले दिइसकेको श्राप फिर्ता गर्न नमिल्ने तर घटाउन सकिने भनिन् । उक्त श्राप चाहेको बखत एक वर्षका लागि भोग्नुपर्ने गरिदिइन् ।

श्रीकृष्णको सुझाव मानेर इन्द्रसँग घातक हतियार लिन पुगेका थिए अर्जुन । कौरवहरुसँग भविष्यमा युद्ध निश्चित जस्तै भएपछि कृष्णले हतियार लिन पठाएका अर्जुन हतियार सँगै श्राव लिएर फर्किए ।

उर्वसीले दिएको श्राप अर्जुनका लागि आशिर्वाद बन्यो । उनी गुप्तवासका बखत राजा विराटकी छोरी बृहान्नल्लालाई नपुंसक अवस्थामा एक वर्षसम्म नृत्य सिकाएर बसे । भेष बदलेर बसेकाले कौरवहरुले अर्जुनलाई एक वर्षसम्म चिन्न सकेनन् । उनीहरुले जति खोज्दा पनि पत्ता लगाउन नसकेपछि गुप्तवास सफल भयो । तर, कौरवहरु गुप्तवास असफल भएको दाबी गर्न थाले ।

विराटको युद्धमा अर्जुनको भेष पत्ता लगाउँदा गुप्तवास सकिएको कि नसकिएको भन्ने विवादले महाभारतको युद्ध मच्चिएको थियो । युद्ध आखिर हुनु नै थियो । युद्धमा सबैले आफन्त गुमाए । अर्जुनले पनि छोराहरु गुमाए ।

अर्जुनले बृहान्नल्लालाई नृत्य सिकाउँदा छोरी जस्तै व्यवहार गरेका थिए । तिनै बृहान्नल्लालाई बुहारीका रुपमा भित्राए । बृहान्नल्लाको विवाह अर्जुनको छोरा अभिमन्युसँग भयो । अभिमन्यु महाभारतको युद्धमा चक्रव्युमा मारिए । अभिमन्यु नमरेको भए चक्रव्युमा अर्जुन मारिन्थे ।



प्रतिक्रिया दिनुहोस्