Logo

के ‘साइकलम्यान’ पूर्व आइजीपी सिंह विप्लवको तारोमा परेका हुन् ?



साइकलका सौखिन पूर्व आइजीपी सिंहबहादुर श्रेष्ठको घर नजिकै जेठ १२ गते घट्टेकुलोको एउटा घरमा बम बिष्फोट भएको थियो । बम बनाउँदै गर्दा भएको बिष्फोटमा परी चारजना विप्लव कार्यकर्ता मारिए । सो बमको तारोमा को थियो भन्नेबारे अझैसम्म स्पष्ट भएको छैन । कुनै भीआइपीलाई तारो बनाएको भन्ने खबरहरु समेत आए ।

घटनास्थल वरपर भीआइपीहरुको घर रहेको छ । विशेषगरी अनामनगर क्षेत्रमा भीआइपीहरुको बसोबास समेत छ । जसमध्ये काठमाडौका रैथाने पूर्व सशस्त्र प्रहरीका आइजीपी सिंहबहादुर श्रेष्ठ पनि हुन् । पुख्र्यौली घर घट्टेकुलो छिर्ने चोकमा भएका सशस्त्र प्रहरी बलका आइजीपी सिंहबहादुर श्रेष्ठलाई तारो बनाउने योजना बुनिएको विषय उठ्यो ।

गत बुधबार जनआस्था साप्ताहिकले श्रेष्ठको घरमा बम बिष्फोट गराउने उद्देश्यले बम तयार हुँदै थियो भनी समाचार प्रकाशित ग¥यो । स्रोतका अनुसार आइजीपी श्रेष्ठको परिवार उक्त समाचारले तनावमा प¥यो ।

नेपाल प्रहरीभित्र हालसम्मका आइजीपीहरुमा सादा जीवनका भनी परिचित श्रेष्ठलाई किन तारोमा पारियो भन्नेबारे खोजबिन समेत भयो । सधै साइकलमा रमाउने, डाँडाकाँडा घुमफिर गरिरहने उनलाई सुरक्षा थ्रेट बढेको हो होइन जानकारी समेत लिइएको बुझिएको छ ।

तत्कालिन नेकपा माओवादीले सशस्त्र गतिविधि गर्दा सशस्त्र प्रहरीका तत्कालिन आइजीपी कृष्णमोहन श्रेष्ठ र उनकी पत्नी नुडुप श्रेष्ठलाई बागडोलमा हत्या गरेको तीतो इतिहास छ । यसकारण पनि सिंह श्रेष्ठलाई विप्लव माओवादीले तारो बनाएको समाचार बाहिर आउनुले आशंकाहरुलाई बल दियो ।

के भन्यो विप्लव माओवादीले

अनामनगरस्थित अग्लो घरमा बस्दै आएका पूर्व आइजीपी सिंहबहादुर श्रेष्ठको परिवार तनावमा रहेको अवस्थामा विप्लव माओवादीको विज्ञप्ति आयो । नेपाल कम्युनिष्ट पार्टीको लेटरप्याडमा जारी विज्ञप्तिमा उपत्यका विशेष ब्युरोका इञ्चार्ज प्रज्वलले हस्ताक्षर गरी श्रेष्ठमाथि आक्रमणको योजना नरहेको उल्लेख गरेको छ । उसले आधारहीन खबर भन्यो ।

विप्लवको विज्ञप्तिका बाबजुद सुरक्षा निकायले भीआइपीहरुको सुरक्षाबारे चासो बढाएको छ । स्रोतका अनुसार भीआइपी र भीभीआइपीहरुको बसोबासस्थलमा निगरानी बढाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot