Logo

वीरेन्द्रको वंशनाश कस्ले किन गर्यो ?



royal_family_birendra

राजा वीरेन्द्रको वंशनाश पारिएको १९ वर्ष टेक्दा समेत रहस्यको पर्दा अझै खोलिएको छैन । वंशनाशपछिका परिवर्तित घटनाक्रमले नेपालमा राजतन्त्रको अन्त समेत गरेको छ । जसका कारण राजतन्त्रको जरो उखेल्ने ग्रान्ड डिजाइन अन्र्तगत वीरेन्द्रको वंशनाश गरिएको भन्ने तर्कमा बल पुगेको छ ।

१९ जेठ २०५८ को शुक्रबार राति भएको त्रासदीपूर्ण राजदरबार हत्याकाण्डमा १० जनाको प्राण जानुका साथै पाँच जना घाइते भएका थिए । घटनाका प्रत्यक्षदर्शीहरुको बयानमा समेत मारिएकामध्ये तत्कालिन युवराज दीपेन्द्र शाहले आफ्नै बाबु वीरेन्द्र, आमा ऐश्वर्या, बहिनी श्रुती, भाई निराजनसहितका ९ जनाको हत्या गरेको उल्लेख गरेका छन् ।

दरबारका पूर्व सैनिक सचिव विवेककुमार शाहले मैंले देखेको दरबार  मा दीपेन्द्रमा पहिल्यै देखिनै समस्या रहेको उल्लेख गरेका छन् । उनले दीपेन्द्रलाई सनकी स्वभावको भनी चित्रण गरेका छन् । घटना दीपेन्द्रले नै घटाएको आशय पुस्तकमा छ । अनुभवी पत्रकार देवप्रकाश त्रिपाठीले महानिशा  पुस्तकमार्फत् दरबार हत्याकाण्डमा मुख्य दोषी दीपेन्द्र नै भएको उल्लेख गरेका छन् ।

घटनामा हातका औंला गुमाएका प्रत्यक्षदर्शीमध्येका श्रुतीका पति गोरख शमशेर राणाले समेत गोली चलाउने दीपेन्द्रबाहेकको अन्य व्यक्तिबारे बताएका छैनन् । तापनि, दरबार हत्याकाण्ड दीपेन्द्रको सनकका भरमा मात्र भएको मान्न अधिकांश नागरिक तयार छैनन् । घटनाको रहस्य के हो ? कस्ले कुन उद्देश्यले हत्या ग¥यो ? यसबारे खोजी र अनुसन्धानको प्रतिक्षा गरिएको छ । नयाँ पीढींका शोधकर्ता देखि पत्रकार सम्मले दरबार हत्याकाण्डबारे अध्ययन अनुसन्धानमा अझै चासो देखाएका छन् ।

घटनाका प्रत्यक्षदर्शी देखि जानकार सम्म धेरैले दरबार हत्याकाण्डबारे मुख खोलेका छन् । हालसम्म कसैले पनि हत्याकाण्डमा दीपेन्द्रबाहेक अर्को खलनायक देखेका छैनन् । कतिपयको मुख अझै बन्द छ । जसमध्ये घटनासँग जोडिने दीपेन्द्रकी प्रेमिका भनिएकी देवयानी राणा पनि हुन् । घटनापछि उनी नेपाल बस्न छाडेकी थिइन् ।

कहाँ छिन् देवयानी

विदेशमा पढेलेखेकी ४६ वर्षीया देवयानीको भारतको संभ्रान्त परिवारसँगको पारिवारिक सम्बन्ध पनि छ । भारतको सिंग्रौलीका पूर्व राजपरिवारका सदस्य कुँवर ऐश्वर्य सिंहसँग सन् २००७ मा उनको विवाह भयो । सिंह भारतका कँग्रेस आइका वरिष्ठ नेता डा. करण सिंह देवयानीका पिता पशुपति शमशेरका फुपाजु हुन् । भाजपा नेता तथा राजस्थानकी मुख्यमन्त्री बुसन्धरा राजे सिन्धिया देवयानीकी सानिमा हुन् ।
दरबार हत्याकाण्डको विषय उठ्दा देवयानी राणाको नाम जोडिन्छ । हत्याकाण्ड हुँदाको बखत दीपेन्द्रसँग प्रेममा रहेकी उनी भेट्रान नेता पशुपति शमशेर राणाकी छोरी हुन् । दीपेन्द्र उनीसँग विवाद गर्न चाहन्थे ।

देवयानीलाई दीपेन्द्रले विवाह गर्न चाहेको र ऐश्वर्याले नमान्दा असन्तुष्ट बनेका दीपेन्द्रले आवेगमा आएर लागूऔषध कालो पद्धार्थ खाएको सुरमा अन्धाधुन्दा गोली चलाएर ९ जनाको हत्या गरेको तत्कालिन सभामुख तारानाथ रानाभाटको संयोजकत्वमा गठित छानविन समितिले प्रतिवेदन तयार ग¥यो । प्रतिवेदन अनुसार दीपेन्द्रले अन्तमा आत्महत्या गरेका थिए ।

उक्त प्रतिवेदनप्रति धेरैले असन्तुष्टि जनाएका थिए । पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले कालो पद्धार्थ अर्थात् चरेश सेवन गरेको व्यक्ति कहिल्यै उत्तेजित नहुने अभिव्यक्ति दिएका थिए । भट्टराईले भनेका थिए,‘¬मेरा पिताजी पनि सेवन गर्नुहुन्थ्यो तर कहिले उत्तेजित हुनुभएन ।’

मारिएकाहरु
राजा वीरेन्द्र
रानी ऐश्वर्या
युवराज दीपेन्द्र
अधिराजकुमार नीराजन
अधिराजकुमारी श्रुती
अधिराजकुमार धीरेन्द्र
अधिराजकुमारी शान्ति
अधिराजकुमारी शारदा
शारदाका पति कुमार खड्ग
राजकुमारी जयन्ती

घाइतेहरु

अधिराजकुमारी शोभा
कुमार गोखर शमशेर
तत्कालिन अधिराजकुमारी कोमल
केतकी चेष्टर

रुसको जारशाहको वंशनाशको पुनरावृत्ति

सन् १९१७ मा रुसमा जारशाहको वंशनाश पारिएको आठ दशकपछि नेपालमा शाहवंशका राजा वीरेन्द्रको वंशनाश गरियो । इतिहासको समय फरक हुन्छ तर घटना उस्तै तरिकाले दोहारिन्छ । राज्यसत्तामा दुरगामी असर पु¥याउने गरी भएका यस्ता हत्याकाण्डबारे दुई चार वर्ष या दुई चार दशकमा पत्ता लगाउन कठिन हुन्छ ।

रुसमा जारशाहको वंशनाशबारे तथ्य खुल्न झण्डै एक सय वर्ष लाग्यो । उक्त घटनामा जार निकोलस द्वितीय, जारिना अलेक्जेन्ड्रा र उनीहरुका पाँच सन्तानको हत्या गरिएको थियो । यो हत्या सत्ता कब्जाको उद्देश्यले गरिएको थियो । रुपमा कम्युनिष्ट बोल्सेभिकले सत्ता कब्जापछि कुनै चुनौती आउन नदिन जारशाहको वंशनाश गरे ।

इतिहास अध्ययनकर्ताहरुबाट रुसका कम्युनिष्ट नेता भ्लादिमिर लेनिनको निर्देशनमा बोल्सेभिकको गुप्तचर प्रहरीले जारशाहको वंशनाश गरिएको तथ्य खुल्यो । नियन्त्रणमा लिएर हत्या गरिएका उनीहरुमध्ये मारिया र एलेक्सीको अवशेष पत्ता लाग्न ९० वर्ष लाग्यो । जार निकोलस, अलेक्जेन्ड्रा, ओल्गा, टाटियाना र अनास्टासियाको अवशेष ८१ वर्षपछि फेला प¥यो ।

दरबार हत्याकाण्डबारे अनुसन्धान भए, पुस्तकहरु लेखिए, अनुमानहरु धेरै भए । अझैपनि यसबारे तथ्य बाहिर आउन सकेको छैन । एक सय एक वर्ष पूरा भइसक्दा पनि रहस्य पूरै खोलिएको छैन ।

रुपमा जारशाहको वंशनाशको आठ दशकपछि मात्र वास्तविक हत्यारा र घटनाबारे प्रकाशमा आयो । कम्युनिष्ट शासन ढलेपछि जारशाहको हत्याको धेरै तथ्य बाहिर आयो । नेपालमा वीरेन्द्रको वंशनाशको वास्तविकता के हो ? किन उद्देश्यले घटना भएको थियो ? यसको सत्यतथ्य बाहिर आउला नै तर कति दशक लाग्ने हो ? समयले सत्ता मात्र उलटपुलट पार्दैन इतिहासका धेरै तथ्यहरु बाहिर ल्याइदिन्छ । राजदरबार हत्याकाण्डको यथार्थ त्यस्तै सत्ताको उलटपुलटले मात्र बाहिर ल्याउन सक्ला ।

वीरेन्द्रप्रति श्रद्धा

राजा वीरेन्द्रको वंशनाशलाई नेपालको इतिहासकै दुःखद घटना मानिएको छ । डा. बाबुराम भट्टराईले घटनालगत्तै लेखमार्फत् नयाँ कोतपर्व भनी लेख लेखेका थिए । उक्त घटनाप्रति दरबारविरोधीले समेत दुःख व्यक्त गरेका थिए ।

वीरेन्द्रको वंशनाशपछि लाखौं नेपाली रोएको घटना स्मरणीय छ । जनतामा आक्रोश र निराशा छायो । अझैपनि वीरेन्द्रप्रति श्रद्धा गर्नेहरु रहेका छन् । उनको सम्झनामा आज विभिन्न कार्यक्रम गरिएको छ । कतिपय स्थानमा श्राद्ध समेत गरिएको छ । पूर्व सहायकरथी प्रेमसिंह बस्न्यातले वीरेन्द्रको सम्झना गर्दै शाहवंशले आम नेपालीको र अखन्ड नेपालको श्रीवृद्धिको लागि काम गरेको उल्लेख गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्