काठमाडौं, २९ जेठ । परराष्टमन्त्री प्रदीप कुमार ज्ञवालीले नेपाल कुनै पनि संगठनलाई एकअर्कामा तुलना गर्ने, एउटालाई छाडेर अर्कोलाई बढावा दिने अथवा निश्कृय वा कमजोर पार्ने भन्ने पक्षमा नरहेको बताएका छन् ।
आइतबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री ज्ञवालीले भने,‘कुनै पनि क्षेत्रीय सहयोग र प्रतिवद्धताका बारेमा हामीले विगतमा जे भन्दै आएका छौं, त्यही नै हो, हामी कुनै पनि संगठनलाई एकअर्कामा तुलना गर्ने, एउटालाई छाडेर अर्कोलाई बढावा दिने अथवा निश्कृय वा कमजोर पार्ने भन्नेमा छैनौं ।’
कुुनै पनि क्षेत्रीय सहयोग संगठनका विषयमा नेपालले विगतमा जेजस्ता प्रतिवद्धता जाहेर गर्दै आएको छ, हाल पनि सोही रहेको मन्त्री ज्ञवालीको भनाइ छ । नेपालको प्रयास विमस्टेक र सार्क दुबैलाई सकृय बनाउनेमा रहेको बताउँदै ज्ञवालीले भने, ‘नेपालको प्रयास सबैखालका क्षेत्रीय सहयोग संगठनलाई सक्रिय बनाउनेमा छ । नेपालजस्तो देशलाई साझा धारणा बनाउनका लागि क्षेत्रीय सहयोग संगठन झनै आवश्यक पर्छ ।’
नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) को २०७४ असार १५ र १६ गते काठमाडौंमा सम्पन्न बैठकले एक महिनाभित्र आफ्नो प्रतिवेदन दुवै देशका सरकारलाई बुझाउने निर्णय गरेको थियो ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम