Logo

भीम रावलको सरकारलाई झापड



काठमाडौं, २० जेठ । नेपाल कम्युनिष्ट पार्टीका नेता भीम रावल सरकार र पार्टीको संस्थापन पक्ष दुवै विरुद्ध कडा रुपमा प्रस्तुत हुँदै आएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको संसद र संसदबाहिर कडा भूमिका नदेखिइरहँदा सत्ता पक्षकै रावल संसदभित्र र बाहिर आक्रामक रुपमा प्रस्तुत हुँदै आएका छन् ।

सोमबार संसदको बजेटबारे छलफलमा उनले फेरि सरकारप्रति तथ्यसहित आलोचना गरे । सरकारको बोली र व्यवहारमा देखिएको भिन्नता शिक्षा क्षेत्रमा समेत देखिएको विषय उठाए । प्रधानमन्त्री केपी शर्मा ओलीले क्रिश्चियन धर्म प्रचारको उद्देश्य राखेको कोरियाको विश्वविद्यालय काङनाङ विश्वविद्यालयबाट मानार्थ विद्यावारिधीबाट सम्मान लिएको र शैक्षिक कार्यक्रम आदानप्रदान गर्ने सम्झौता प्रसंग निकाल्दै भने,‘बजेटमा देशभक्ति र सभ्य समाज निर्माणमा सहयोग पुग्ने विषय पाठ्यक्रममा राख्ने उल्लेख गर्ने तर धर्म प्रचारक विश्वविद्यालयलाई प्राथमिकता दिने ?’

रावल आफै राजनीतिशास्त्रमा विद्यावारिधी गरिरहेका छन् । उनले पछिल्लो समय तथ्य र तथ्यांकसहित आफ्नै दलका नेता विशेष र सरकारको समेत आलोचना गर्दै आएका छन् ।

बालुवाटार जग्गा प्रकरणमा पार्टीभित्रका जिम्मेवार जोकोही नेताको भूमिका भए कारबाही गर्नुपर्ने माग समेत राखेका थिए । उनको सिधा प्रहार महासचिव विष्णु पौडेलमाथि थियो ।

रावलले सगरमाथा टेलिभिजन अन्तवार्तामा बोल्दै दरबन्दी नै नरहेको राष्ट्रिय सुरक्षा परिषद्मा एआइजीलाई खटाएकोमा सरकारको आलोचना गरे । सरकारले सुरक्षा निकायमा प्रणाली बिगार्दै गएको विषय उठाए । सरकारले एआइजी धीरु बस्न्यातलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट सुरक्षा परिषदमा खटाएको थियो । परिषदमा नेपाल प्रहरीबाट डिआइजीको दरबन्दी रहेको छ ।

यसअघि नागरिकताको विषयमा समेत रावलले सरकारलाई सचेत गराएका थिए । ट्वीटमार्फत् भने,‘नागरिकतबाारे सर्वोच्चको फैसला, गैरकानुनी रुपमा नागरिकता लिन खोज्ने विदेशीहरुको गिरफ्तारी र देशको दीर्घकालिन अस्तित्वसँग गाँसिएको विषय भनी व्यापक रुपमा उठेको आवाजलाई सरकार र सम्बन्धित निकायले ध्यान दिई काम गरुन् ।’

ओली–सरकार र सीके राउतबीचको सम्झौताप्रति समेत रावलले सरकारको कडा आलोचना गरेका थिए । देशको बिखण्डनको उद्देश्य लिनेसँगको सम्झौताको बुँदामाथि शंका गर्दै भने,‘नेपाल आमालाई गालिगलौज गर्दै टुक्राउन विदेशीहरुसँग समेत साँठगाँठ गर्ने सीके राउतलाई राष्ट्रिय हिरोको सम्मान दिदै अलग देशको नेतासँग झै सम्झौता गरी स्वतन्त्र मधेश र स्वशासन जस्ता संविधान विपरितका कुरा, मेरा विरुद्धको कुप्रचारको थोत्रो बर्कोले छोपिने छैनन् ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot