काठमाडौं । भारतमा डा. सुव्रमण्यम जयशंकर विदेशमन्त्री बनेर धेरैलाई चकित पारेका थिए । सरकारी सेवामा रहेर राजदूत हुँदै विदेश सचिव बनेर सेवानिवृत्त बनेका जयशंकरलाई मोदीले महत्वपूर्ण जिम्मेवारी दिंदा नेपालमा भने त्रासको विषय उठ्यो ।
२०७२ सालमा नेपालमा संविधान जारी गर्दा जयशंकर भारतको विदेशसचिव थिए । उनी भारतीय प्रधानमन्त्री मोदीको विशेष दूत भएर नेपालसँग संविधान जारीमा केही ढिलाई गर्न भन्न आएका थिए । तर, नेताहरुले दबाबका बाबजुद संविधान जारी गरेपछि नाकाबन्दी भयो ।
नाकाबन्दीको घटनालाई जयशंकरको नेपाल भ्रमण र भारतसँगको केही असमझदारीलाई मुख्य कारण मानियो । त्यसपछि दुई देशबीचको सम्बन्धमा चिसोपन आयो । जयशंकर विदेश सचिव हुँदा भएको उक्त घटनाका कारण विदेशमन्त्री बनेका उनको कार्यकालमा नेपालसँग भारतको सम्बन्ध सामान्य नहुने विषय जोडतोडका साथ उठेको छ ।
कस्तो होला सम्बन्ध
जयशंकर चतुर कुटनीतिज्ञ हुन् भनी प्रमाणित गरिसके । भारतको चीन र अमेरिकासँगको सम्बन्ध सुदृढ बनाउन उनले मुख्य भूमिका खेलेका थिए । अमेरिकासँगको आणविक सम्झौता देखि चीनसँग दोक्लाम विवाद समाधानमा जयशंकर मुख्य रणनीतिकार बने ।
कुटनीतिमा विशेष दख्खल राख्ने उनले भारतको छिमेकलाई प्राथमिकतामा राख्ने नीतिलाई निरन्तरता दिने देखिएको छ । मोदी सरकारले बिम्स्टेक राष्ट्रका नेताहरुलाई सपथमा निम्तो गरेर यस्तो सन्देश दिइसकेको छ । जयशंकरले मोदीको नीतिलाई अगाडि बढाउने छन् ।
जयशंकरले विगतका घटनाबाट पाठ सिकेर सुन्दर भविष्य निर्माण गर्ने विषयलाई प्राथमिकतामा राख्न सक्छन् । भारतको विदेश मन्त्रालयले स्पष्ट रुपमा अब विगतमा रुमल्लिएर नभई भविष्य उज्ववल बनाउनेतर्फ नेपाल भारत सम्बन्ध अगाडि बढ्न्पर्ने विषय सार्वजनिक गरिसकेको छ । यसकारण पनि जयशंकरले विगतमा भन्दा भविष्यमा ध्यान दिएर दुई देशको सम्बन्धलाई सुमधुर र प्रगाढ बनाउनेतर्फ सक्रियता देखाउन सक्छन् । Photo Source: The Wire