जेठ २०, काठमाण्डौ । नेकपा अध्यक्ष पुष्पकमल दाहालले सरकारको नेतृत्व आलोपालो गर्ने पूर्ववत सहमतिकोे विषयलाई उठाएपछि पछिल्लो पटक नेकपाभित्र यसविषयलाई लिएर ठुलै बहस चलिरहेको छ । जसको प्रभाव अहिले सचिवालयमा समेत परेको छ ।
पार्टीको पोलिटव्युरो गठन,नेताहरुको कार्यविभाजन लगायतका कामहरुको टुङ्गो लगाउन सचिवालय बैठक समेत पटक–पटक सदै आइरहेको छ । जसका कारण नेकपाभित्रको पार्टी एकीकरणको बाँकी काम थप अन्यौलग्रस्त बन्दै गएको छ ।
प्रचण्डले प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै सरकारको नेतृत्व आलोपालो गर्ने सहमती भएको बारे अभिव्यत्ति दिएपछि दुई अध्यक्षविचको असमझदारी बढेको हो ।
त्यसो त दाहालको उक्त प्रतिक्रियाको प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्माओलीले खण्डन गरीसकेका छन । आइतबार दुइअध्यक्षविच छलफल समेत भइसकेको छ ।
छलफलमा उक्त अभिव्यक्तिबारे भएको हल्ला चिर्ने प्रयास भएको थियो । त्यसैगरी जिल्ला कमिटीका इञ्चार्ज र सह–इञ्चार्जहरुको नाम टुंगो लगाइएको छ ।
अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डवीचको छलफलले ७७ जिल्लाका इञ्चार्ज र सह–इञ्चार्जहरुको नाम मोटामोटी टुंगो लगाएको हो । आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको र उक्त सहमति ओलीले पालना गर्नुपर्ने अभिव्यक्ति प्रचण्डले दिए पछि दुई अध्यक्षबीच फाटो देखिएको थियो ।
बाहिर निकै चर्चा भएपछि त्यसलाई सेलाउन दिनका लागि ओली–प्रचण्डले हतारमा जिल्ला इन्चार्ज र सह इन्चार्जमा सहमति गरेर सकारात्मक सन्देश दिन खोजेको देखिन्छ ।
आफ्नो अभिव्यक्तिले सोचेभन्दा धेरै चर्चा पाएपछि प्रचण्डले ५ वर्ष नै ओली प्रधानमन्त्री रहने बताउन थालेका छन् ।
तर अध्यक्ष दाहालले अहिलेनै त्यस्तो प्रतिक्रिया दिनु दाहालले पार्टीभित्र आफु कमजोर हुने डर र अर्का अध्यक्षले सहमती कार्यान्वयन नगर्लाकी भन्ने डरले यस्तो प्रतिक्रिया दिएको विश्लेषण हुन थालेको छ ।
यही विषयलाई लिएर नेकपाभित्र अहिले नेताहरु आफुहरु कसरी बलियो बन्ने भन्ने समेत होडबाजी चल्न थालेको छ । अध्यक्ष दाहाल र ओलीको अभिव्यक्तिलाई लिएर नेताहरु पक्ष विपक्षमा समेत देखिन थालेका छन् ।
अध्यक्ष दाहालको प्रतिक्रियालाई लिएर नेकपा नेता बामदेव गौतम र झलनाथ खानल अध्यक्ष दाहालकै पक्षमा प्रतिक्रिया दिइसकेका छन् भने माधवकुमार नेपाल ओलीतिर ढल्किएका छन । दाहालको समर्थन गर्दै खनालले दुई पार्टीबीच एकता प्रक्रिया सुरु भएदेखिका सबै सहमति अक्षरस पालना हुनुपर्ने स्पष्ट पारेका छन् ।
यसअघि पनि प्रधानमन्त्री ओली स्वीचरल्याण्ड भ्रमणमा रहेको बेला, दाहालले भेनेजुयलामा अमेरिकाले गरेको हस्तक्षेपको विरोध गर्दै निकालेको विज्ञाप्तीले नेकपाभित्र ठुलै विवाद ल्याएको थियो ।
एकीकरण हुंदादेखिनै पटक–पटक विवाद देखिदै आएको नेकपाभित्र पछिल्लो पटक देखिएको विवादकै कारण पार्टी एकताको बांकी काम थप लम्बिने देखिएको छ । अध्यक्ष सहितका शीर्ष नेताले यही जेठ मसान्त भित्र एकीकरणका बाँकी सवै काम सक्ने र जिम्मेवारी समेत निर्धारण गर्ने बताउदै आएपनि सो पछि सचिवालय बैठक समेत बस्न सकेको छैन ।
सरकारको समेत नेतृत्व गरीरहेका नेकपा अध्यक्ष ओली यही जेठ २५ गतेबाट ८ दिने बेलायत भ्रमणमा जाने भएपछि पार्टी एकताको बांकी काम थप अन्यौलग्रस्त बनेको छ ।