पाण्डवहरुका लागि युद्धको विकल्प भएन । कौरवहरुसँगको युद्ध निश्चित भइसकेको थियो । युद्ध त गर्ने तर धन कसरी व्यवस्था गर्ने । युधिष्ठिर चिन्तामा परे । कृष्णसँग सल्लाह गरे । कृष्णले भने,‘कुबेरले सहयोग गर्नेछन् ।’ कृष्णको नाम लिनेवित्तिकै कुबेरले सहयोग दिनेमा युधिष्ठिर ढुक्क थिए । उनले धन बोक्न सक्ने बलावान भीमलाई कुबेरको घर पठाए ।
दाजुको आज्ञा मुताबिक भीमसेन कुबेरको घर गए । द्वारपालसँग आफ्नो परिचय खुलाएर प्रवेश मात्र के गरेका थिए एकजना व्यक्ति तोरीको गेडा एउटा एउटा गरी टिप्दै थिए ।
भव्य महलमा तोरीको गेडा टिप्ने व्यक्तिबारे भीममा जिज्ञासा पैदा भयो । भीमले द्वारपालसँग सोधे,‘तोरीको गेडा टिप्ने को हो ?’ द्वारपालले उनै व्यक्ति कुबेर हुन् भनेपछि भीमको नाक खुम्च्याए ।
जाबो तोरीको गेडा समेत नछाड्ने लोभीले के धन देलान् ? मनमनै प्रश्न गरे । उनी फरक्क फर्किए । भीम रित्तो हात फर्किएको देखेर युधिष्ठिर चिन्तित भए । कतै कुबेरले धन दिन अस्वीकार त गरेनन् ?
भीमले फर्कनुको कारण भने,‘कुबेरबाट धनको आशा गर्न सकिदैन ।’युधिष्ठिरले त्यसबारे सोध्दा उत्तर दिए,‘कुबेर निकै कञ्जुस रहेछन् ।’
कृष्णले धनको महत्व कुबेरले बुझेकैले धनी बन्न सकेको बताएपछि भीम फेरि गए ।
कुबेरलाई भेटेर कृष्णले धन लिन पठाएको बताए । भीमले सकेजति धन कुबेरले दिने भए ।
सिक्का र बहुमूल्य धानु गाडामा भर्न थाले भीम । गाडा भरिएपछि बोकेर अगाडि बढ्दै थिए । गाडा अचानक भाँसियो । भीमले न्वारनको बल निकालेर निकाल्न खोज्दा समेत सकेनन् ।
कुनै जोर नचलेपछि कुबेरले गाडाको पाङ्ग्रामा तोरी खन्याइदिए । भीम हेरेको हे¥यै भए ।
एउटा एउटा गरी टिपेर जम्मा गरेको तोरी आँखैले देखेका थिए । तोरीको बोरानै खनाइदिएपछि कुबेरप्रति उनको पुरानो दृष्टिकोण परिवर्तन भयो ।
तोरीको गेडाले चिम्लो बनाएपछि गाडा हिलो भएको खाल्डोबाट निस्कियो । भीमले धन जम्मा गरेर सही समयमा खर्च गर्ने कुबेरको नीति बुझे ।
धन जम्मा गर्ने खुबी चाहिन्छ र सही समयमा खर्च गर्ने तरिका पनि चाहिन्छ ।