अजीत दोभाल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको राष्ट्रिय सुरक्षा सल्लाहकारमा पुर्ननियुक्त भएका छन् । पाँच वर्ष उक्त जिम्मेवारी सम्हालिसकेका उनलाई मोदीले क्याबिनेटमन्त्री स्तर दिदै नियुक्त गरेका हुन् ।
भारतीय समाचार एजेन्सी एएनआइका अनुसार दोभाल पाँच वर्षे कार्यकालका लागि नियुक्त भएका हुन् । सन् १९६८ मा भारतीय प्रहरी फोर्सका अधिकृतमा नाम निकालेका उनले ३३ वर्ष गुप्तचर निकायमा काम गरे । पाकिस्तान र बेलायतमा बसेर कुटनीतिज्ञको अनुभव हासिल गरेका दोभाल भारतीय गुप्तचर निकाय आइबीको प्रमुख भएका थिए ।
भारतीय जनता पार्टी निकट विवेकानन्द फाउण्डेशनको जिम्मेवारी समेत सम्हालेका उनी मोदी सत्तामा आएपछि राष्ट्रिय सुरक्षा सल्लाहकार बनाइएका थिए । भारतको सुरक्षा मामलाका कुशल रणनीतिकारका रुपमा परिचित उनी जोखिम मोल्न सक्ने टेक्नोक्रयाट हुन् ।