उपत्यकाका सबैजसो नदीनाला फोहोरले नजिक जान नसकिने अवस्था छ । वागमतीको हालत अझै सुध्रिएको छैन । तर, उपत्यकामा अझै एउटा खोला छ जुन अझै सफा छ ।
गोदावरी खोलाको पानी अझै नुहाउन र लुगा धुन योग्य छ । फुलचोकी क्षेत्रमा मुहान रहेको उक्त खोलाको मुख्य मुहान गोदावरी कुण्ड हो । गोदावरीको कञ्चन पानी बग्दै गोदामचौर, बिष्णुडोल, लुभु, टिकाथली हुँदै मनहरामा मिसिन्छ । मनहरा खोला निकै फोहोर छ भने दक्षिणबाट बगेर आउने गोदावरी खोलाको पानी सफा छ ।
गोदावरी खोला सफा हुनुमा स्थानीयले खोला वरपर जथाभावी फोहोर गर्न नदिनु मुख्य कारण हो । उक्त खोला र सहायक साना खोलाहरु त्यस क्षेत्रको खानेपानी र सिंचाईका मुख्य स्रोत पनि हुन् । त्यसकारण पनि स्थानीयले खोलामा फोहोर हुन दिएका छैनन् ।
गोदावरी खोलामा वातावरण सफा राख्न बुधबार मुहान कुण्डदेखि गोदावरी खोला दोभानसम्म खोलाको दायाँबायाँ मानवीय साङ्गलो बनाई जनचेतनामूलक कार्यक्रम गरिने भएको छ । बुधबार विहान १० देखि ११ बजेसम्म विश्व वातावरण दिवसको अवसर पारेर उक्त कार्यक्रम आयोजन ागर्न लागिएको गोदावरी खोला क्षेत्र साप्ताहिक सरसफाई अभियानका संयोजक बेबि राजभण्डारी थापाले बताइन् ।
आयोजकले लामकुण्ड, नहरको पुल, आमाघरको पुल, रचनाटारको पुल, हाँडेगाउँको पुल, शिव मन्दिर धर्मटार, धर्मटार साविककको पुल, धर्मटार ९ नम्बर जोड्ने पुल, बिष्णुडोल पुल, लुभु जाने पुल, महालक्ष्मी वडा नम्बर ७ र ५ जोड्ने पुल, बालकोट पुल, टिकाथली रातो पुल, हनुमन्ते मुल गरी १४ स्थानमा जम्मा हुन आग्रह समेत गरेको छ ।