Logo

वातावरण विनाशको डरलाग्दो चित्र



देशभर जल, जमिन र जङ्गल विनाशको भयावह अवस्थाले वातावरणीय समस्याहरु बढाउँदै लगेको छ । वायुप्रदुषण, पानी र माटोको प्रदुषणले प्राकृतिक, सांस्कृतिक र सामाजिक प्रणालीहरुमा चुनौती थपेको छ । अव्यवस्थित शहरीकरण र विकासका नाममा विनाश निम्त्याउने कदम सभ्यतामाथिको प्रहार बन्दै गएको छ ।

स्वच्छ वायु, स्वस्थ जीवन नाराका साथ नेपालमा पनि विश्व वातावरण दिवस मनाइरहँदा राजधानी काठमाडौंको वायु प्रदुषणले यहाँ बस्नेको स्वास्थ्यमा प्रतिकूल असर पर्दै आएको छ । अव्यवस्थित र प्रदूषण मापन नाघेका सवारीसाधनले निकाल्ने धुँवा, उद्योग कलकारखानाका धुँवा, सडकका धुलोका कारण मास्क नलगाई हिंड्न नसकिने अवस्था छ ।

केन्द्रीय तथ्यांक विभागको सन् २०१९ मा प्रकाशित वातावरणीय तथ्यांक अनुसार नेपालले प्राकृतिक स्रोतमाथिको दोहोनका कारण उत्पन्न परिस्थिति र वायु र पानीको प्रदुषण गरी दुई किसिमका वातावरणीय चुनौती झेरिहेको छ । वायु र पानी दुवैको प्रदुषणले जलवायुमा समेत असर परेको छ ।

मौसम विभागको सन् २०१८ को तथ्यांक अनुसार ललितपुरको गोदावरीमा सन् २०१३ मा अधिकतम् तापक्रम २३.३ डिग्रि सेल्सियस रहेकोमा सन् २०१७ मा २४.१ रेकर्ड भएको छ ।

  • देशभर तापक्रम बढ्दै
  • वर्षा घट्दो

वर्षाको मात्रा पनि घट्दै गएको छ । काठमाडौंस्थित विमानस्थलको सन् २०१३ यता निरन्तर वर्षाको मात्रा घट्दो छ । विभागका अनुसार सन् २०१३ मा १८९९ मिलिमिटर वर्षा भएकोमा सन् २०१४ मा १५७८, २०१५ मा १६४९, २०१६ मा १४८२ र २०१७ मा १२७९ मिलिमिटर वर्षा रेकर्ड छ ।

बढ्दो सवारीसाधनको प्रदूषण

देशभर सवारीसाधनको संख्या बढिरहेको छ । यातायात व्यवस्था विभागको तथ्यांकले वर्षेनी एक लाखभन्दा बढी नयाँ सवारीसाधन दर्ता भइरहेको देखिन्छ । सन् २०१०÷११ मा देशभर एक लाख ६३ हजार ६ सय ४० सवारीसाधन दर्ता भएकोमा सन् २०१६÷१७ मा चार लाख ४४ हजार दुई सय ५९ दर्ता भए । देशभर सवारीसाधनको संख्या ३० लाख कटिसकेको छ । नेपालमा प्रति दश जना बराबर एउटा सवारीसाधन भएको छ ।

  • ३० लाखभन्दा बढी सवारीसाधन
  • प्रति दश जना बराबर एक सवारीसाधन

देशभरका सडकमा पैदलयात्री र साइकल यात्रीलाई प्राथमिकता नदिंदा यातायातको संख्या स्वतः बढेको छ । सडक सधै जाम हुने कारणले यातायातका कारण हुने प्रदूषण बढ्न गएको छ ।

बढ्दो जोखिम

सडकमा हुने दुर्घटनाको संख्या पनि उत्तिकै बढेको छ । नेपाल प्रहरीको तथ्यांक अनुसार सन् २००२÷२००३ मा चार हजार ३० सडक दुर्घटना भएकोमा सन् २०१५÷१६ मा दश हजार १३ वटा दुर्घटना भएको छ । दश वर्षमा दुर्घटनाको संख्या दोब्बरले वृद्धि भएको छ ।

  • वार्षिक दश हजारभन्दा बढी सडक दुर्घटना

मौसम क्षेत्रमा लगानी बालुवामा पानी

मौसम क्षेत्रमा सरकारले वर्षेनी बजेट विनियोजन बढाउँदै लगेको छ । सन् २०१७÷१८ मा ६९ अरब २२ करोड रुपैयाँ विनियोजन गरियो । सन् २०१२÷१३ मा १८ अर्ब बजेट विनियोजन गरिएको थियो । बजेट बढाउँदै लगेपनि मौसम परिवर्तनको मारमा देश परिरहेको छ । काठमाडौको वायु र पानीको शुद्धता विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा मुनी रहेको छ ।

देशका नदीनालाहरु प्रदूषण बढ्दै गएको छ । कोशी, कर्णाली र गण्डकी जस्ता ठूला नदीहरुमा समेत प्रदूषण बढेको छ । नदी छेउछाउ स्रोतको अव्यवस्थित दोहोनले खतरनाक अवस्था निम्त्याउँदैछ । वागमती नदी अझै छुन योग्य छैन । यसका सहायक खोलाहरुको हालत दिनानुदिन बिग्रदो छ ।



प्रतिक्रिया दिनुहोस्