Logo

ब्लोदानले जेठ २४ गतेदेखि जेठ ३१ सम्म साताव्यापी कार्यक्रम गर्ने



काठमाडौं, २२ जेठ । ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) ले यही जुन १४ तारिखमा मनाउने विश्व रक्तदाता दिवसको अवसरमा काठमाडौंमा साताव्यापी कार्यक्रम गरेर मनाउने भएको छ ।

बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर यस्तो जानकारी गराएको हो । सन् १९०१ मा डा. कार्ल ल्याण्डस्टिनरले ए, बि, ओ रक्त समूह पत्ता लगाएपछि उनको जन्मदिन जून १४ लाई विश्व रक्तदाता दिवसको रुपमा मनाउँदै आईरहेको छ ।

ब्लोदानले आफूहरुले वर्षभरि स्वयंसेवी रक्तदानको क्षेत्रमा लागेका स्वयंसेवी रक्तदाताहरु, संघसंस्थाहरु लगायत अन्य महानुभावहरुलाई मानव जीवन बचाउनेजस्तो मानवीय कार्यमा लागेकोमा धन्यवाद दिन सन् २००४ देखि नेपाल सरकार, नेपाल रेडक्रस सोसाइटी, विश्व स्वास्थ्य संगठनलगायत रक्तदान गर्ने अन्य संघ/संस्थाहरुसँगको सहकार्यमा विश्व स्वास्थ्य संगठनद्वारा घोषित नाराका साथ विभिन्न साप्ताहिक कार्यक्रमहरु सहित विश्व रक्तदाता दिवस भव्यरुपमा मनाउँदै आईरहेको जनाएको छ ।

यही जेठ २४ गतेदेखि जेठ ३१ गतेसम्म उक्त साताव्यापी कार्यक्रम सञ्चालन गर्न लागिएको मूल समारोह समितिका संयोजक सुर्यलाल महर्जनले जानकारी दिए । ब्लोदानका केन्द्रीय अध्यक्ष सानुबाबु प्रजापतिले आफूहरुले यस वर्ष ‘सबैका लागि सुरक्षित रगत’ भन्ने नाराका साथ विश्व रक्तदाता दिवस–२०१९ मनाउन गइरहेको जानकारी गराए । उनले उक्त अवसरमा स्वयंसेवी रक्तदान गर्नेहरुलाई पटकको आधारमा सिल्भर, गोल्डेन तथा डायमण्ड डोनर पीनले सम्मानित गर्नेपनि जानकारी दिए ।

उनले भने,‘बढी रक्त संकलन गर्ने संघ÷संस्थाहरुलाई विभिन्न विधामा रनिङ्ग शिल्डबाट सम्मानित गर्नुका साथै यस स्वयंसेवी रक्तदान क्षेत्रमा लाग्नुभएका विभिन्न महानुभावहरुलाई समेत सम्मानित गर्दै आइरहेका छौं ।’

अध्यक्ष प्रजापतिले ब्लोदानले बढिभन्दा बढि स्वयमसेवी रक्तदाताहरुलाई रक्तदान गर्न अभिप्रेरित गर्ने खालका उत्प्रेरणात्मक कार्यक्रमहरु ल्याउने र नेपाल सरकारसँग सहकार्य तथा समन्वय गर्ने पनि विश्वास दिलाए ।

कार्यक्रममा सञ्चारकर्मी तथा हाँस्यकलाकार श्रीकृष्ण सिम्खडाले रक्तदानको महत्वबारे प्रकाश पारेका थिए । उनले नेपाल सरकारले पनि रक्तदान अगुवाई गर्ने ब्लोदानजस्ता संघ तथा संस्थाहरुसँग समन्वय गर्नुपर्ने आवश्यकत्ता औंल्याए ।

त्यस्तै, कार्यक्रममा ब्लोदानका सल्लाहकार तथा सञ्चारकर्मी लोकनारायण सुवेदीले रगतको मुल्य वृद्धि गरेकोमा गुनासो पोखे । उनले रक्तदान जीवनदान भनेजस्तै सबैले रक्तदान गर्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा साप्ताहिक कार्यक्रम मूल समारोह समितिका संयोजक सुर्यलाल महर्जनले साताव्यापी कार्यक्रमका बारेमा प्रकाश पारेका थिए । त्यस्तै, ब्लोदानका सल्लाहकार ललित महर्जनले पनि रक्तदानको महत्वबारे बोलेका थिए ।

उनले विश्व रक्तदाता दिवसलाई नेपालमा भव्य रुपमा मनाउनुपर्ने र यसको लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग पु¥याउनुपर्नेमा जोड दिएका थिए । आजको कार्यक्रममा स्वागत मन्तव्य ब्लोदानका केन्द्रीय महासचिव केशव महर्जनले राखेका थिए भने ब्लोदानका केन्द्रीय सदस्य बालकृष्ण श्रेष्ठले कार्यक्रमको सञ्चालन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot