काठमाडौं, २४ जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नवनिर्मित हवाई जहाज पार्किङ स्थल सञ्चालनमा आएको छ । बिहीबार पर्यटन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले रिबन काटेर उद्घाटन गर्नु भएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा पर्याप्त पार्किङ सुविधा नहुँदा अन्तर्राष्ट्रिय उडानबाट आउने जहाजहरूले आकाशमा फन्को मारेर अवतरणको लागि कुरेर बस्नु पर्ने समस्या झेल्दै आएको थियो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले यो नयाँ बनेको पार्किङले अब जहाजले आकाशमा होल्ड भएर बस्नु पर्ने समस्या अन्त्य हुने बताउनुभयो ।
उक्त पार्किङ स्थल टुन्डी–लामा समानान्तर जेभी निर्माण कम्पनी र ए वान विल्डर्स कम्पनीले चार वर्ष लगाएर बनाएको हो । यसको कुल लागत ४४ करोड ५० लाख ४३ हजार सात सय २८ रहेको निर्माण कम्पनीले जनाएको छ । पार्किङ स्थल वैशाख ३१ गते निर्माण सम्पन्न भइसकेको थियो ।